Logo

म कुनै धर्म, जाति, समुदाय विशेषको नेतृत्व गर्न आएको होइन :भोला यादव

ujyalosandesh online १२ जेष्ठ २०७९, बिहीबार ००:४१ मा प्रकाशित

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले जनताको शासक नभइ सेवक भएर काम गर्ने बताएका छन् । उनले जनतालाई शासकको नभइ सेवकको आवश्यकता रहेको र जनताले सेवक निर्वाचित गर्नुभएकोले पाँचवर्ष कसैलाई कुनै प्रकारको अप्ठ्यारो पार्ने काम नगर्ने बताए ।

बुधबार पदभार ग्रहण गर्दै वडाअध्यक्ष यादवले आफूले माइक समातेर बोलेको मात्र नभइ काम पनि गरेकाले त्यसको मुल्यांकन जनताले गरेको बताए । उनले वडाभित्र क्रियाशिल क्लब, संघ–संस्था तथा वडाबासीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘पहिलो कार्यकालको पाँचवर्ष धेरै कुरा अध्ययन गर्नुपर्ने थियो, धेरै कुरा पनि सिके जसले गर्दा अब अनुभव पाइसकेको छु, जनताको सल्लाह सुझाव अनुसार आफ्नो कार्यकाल अगाडी बढाउँछु ।’ जनताले आफूलाई जिताउन बगाएको पसिना खेर जान नदिने उनको भनाइ थियो ।

उनले भने, ‘तपाईहरु विश्वस्त हुनुहोस्, म कुनै धर्म, जाति, समुदाय विशेषको नेतृत्व गर्न आएको होइन, नेपालीको नेतृत्व गर्न आएको हुँ, त्यसैले कसैलाई काखापाखा गर्नेछैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मुक्तिनाथ यादव (भोला) वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार