Logo

मायादेवी-३ का वडाअध्यक्ष रफिकले सम्हाले पदभार

ujyalosandesh online १८ जेष्ठ २०७९, बुधबार १९:४० मा प्रकाशित

भैरहवा, १८ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्ष पदमा निर्वाचित मोहम्मद रफिक खाँले बुधवार देखि पदाभार सम्हालेका छन् ।
०७४ को स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका खाँले जनमुखी काम गरेपछि हालै सम्पन्न निर्वाचनमा उनी पुन: निर्वाचित भएका छन् ।
वडामा जनअपेक्षा अनुसार काम गरेका कारण वडाअध्यक्ष खाँलाई पुनः निर्वाचित गराईएको अजय कुमार पाण्डेयले बताए । उनले वडाअध्यक्ष खाँ नागरिक दु:ख, सुखमा सधै साथमा उभिने हुने र वडाको विकास तिव्र गतिमा गरेकोले हामी वडावासीले उनैलाइ रोजेको बताए ।
पदाभार सम्हालेपछि वडाको पहिलो बैठकले आर्थिक सहयोग गर्ने देखि लिएर वडामा २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्मका निर्णय गरेकाे वडाअध्यक्ष मोहम्मद रफिक खाँले बताए ।
उनका अनुसार आगामी आ.व ०७९/०८० देखि वडाका वासीलाई क्यान्सर रोग लागेको अवस्था विरामीको उपचारका लागि वर्षमा एक पटक २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।
‘क्यान्सर घातक रोग हो र क्यान्सर रोगको उपचारको क्रममा अधिक रकम खर्च हुने हुदाँ विरामीको उपचारमा थोरै भएपनि राहत पुग्ने विश्वासले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेका हौँ’ उनले भने ।
त्यस्तै कम्हरिया स्वास्थ्य चौकीको बर्थिंग सेन्टरमा रहेको एम्बुलेन्सलाई वडावासीकाे लागि चौबिसैँ घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ ।
‘स्वास्थ्य चौकीमा नि:शुल्क एम्बुलेन्स सेवा भएतापनि वडावासीले २४ घण्टा सेवा पाएका थिएनन्, जसले गर्दा विरामीहरुले समस्या भोग्नु परेको थियो’ उनले भने, अब यसलाई व्यवस्थित गरेर वडावासीलाई जुनसुकै बेला आवश्यकता परेको बेला एम्बुलेन्स सेवा उपलब्ध हुने गरी काम अघि बढाएका हौँ ।’
यस्तै वडा कार्यालयको भवन जिर्ण भएकोले नयाँ भवन निमार्ण गर्ने समेत वडाको पहिलो बैठकले निर्णय गरेको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार