Logo

“श्रमिक अस्पताल” निर्माणको तयारीका लागी सम्भाव्यता अध्ययन टोली भैरहवामा

ujyalosandesh online १९ जेष्ठ २०७९, बिहीबार १३:५८ मा प्रकाशित

विवेक विश्वकर्मा
भैरहवा । नेपाली श्रमिक एवम नेपालमा काम गरिरहेका बिदेशी श्रमिकलाई लक्षित गरि नेपालमा श्रमिक अस्पताल निर्माणको लागि गठित सम्भाव्यता अध्ययन टोली सुझाव संकलनको लागी भैरहवा आई पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डाक्टर दिपक काफ्लेको संयोजकत्वमा गठित टोलीले रुपन्देहीका उद्योगी, ब्यवसायी, श्रमिक, सरकारी कर्मचारी संग अस्पतालको मोडल, जग्गा उपलब्धता लगायतको बिषयमा छलफल गरेको छ ।
सह–सचिव काफ्लेले श्रमको सम्मान‚ सुरक्षित कार्य थलो‚ सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि श्रमिक अस्पताल निर्माण आवश्यक देखिएको जनाए । उनले हरेक प्रदेशमा अनौपचरिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने गरी श्रमिक अस्पताल बनाउनुपर्ने योजना अघि सारिएको बताए ।
काफ्लेले ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने सरकारको योजना रहेको बताए । साथै योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराईने छ ।
अस्पताल कुनै एक ठाउमा निर्माण गरेर यसको शाखाहरु नेपालका बिभिन्न स्थानमा स्थापना गर्न सकिने काफ्लेको भनाई छ ।
काफ्लेले अस्पताल विकास समिति मोडल वा अस्पताल निर्माण परियोजना निर्माण मोडेले गरि २ वटा मोडेल मध्ये कुन तरिकाबाट अस्पताल सञ्चालन गर्ने बिषयमा छलफल भइ रहेको बताए । उनले नेपालमा बिशेष गरि खाडी मुलुकहरु यस बिषयमा लगानी गर्न उत्सुक रहेको काफ्लेको भनाई छ ।
सम्भाव्यता अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि छन् । टोलीले रुपन्देही संगै बिराटनगर र बारामा सुझाव संकलन गरि सकेको छ ।
टोलीले अस्पताल सञ्चालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने र असार अन्तिम सम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको उनले जनाए । सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० मा अस्पतालको डिपिआरको लागी बजेट समेत बिनियोजन गरि सकेको छ ।

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार