Logo

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सब–स्टेसनको उद्घाटन

ujyalosandesh online २० भाद्र २०७९, सोमबार २२:४३ मा प्रकाशित

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सब–स्टेसनको उद्घाटन गरेका हुन् । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ । मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् ।
यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले लोडसेडिङ्ग अन्त्य मात्र बिद्युत प्राधिकरणको लक्ष्य नरहेको बताए । उनले प्राधिकरणको अबको लक्ष्य गुणस्तरीय र दिगो बिद्युतका निम्ति लागेको बताए ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०÷०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको लागत १ अर्ब १९ करोड रुपैया रहेको छ ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार