Logo

सिद्धार्थनगर प्रथम उपमेयर कप कराँते प्रतियोगिता : रोहिणीले चुम्यो उपाधी

ujyalosandesh online ३१ भाद्र २०७९, शुक्रबार २०:२२ मा प्रकाशित

भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप कराँते प्रतियोगिता–२०७९ उपाधी रोहिणी गाउँपालिकाको कार्यालयले चुमेको छ ।

आयोजित प्रतियोगितामा रोहिणी गाउँपालिकाले दुई वटा गोल्ड, दुई वटा र एउटा ब्राउन्स पदक प्राप्त गरी प्रथम भएको प्रतियोगिताका संयोजक एवं नेपाल सितोरियो कराँते डो संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए । त्यस्तै दीप बोर्डिङ स्कूल दोस्रो र बुटवल डोजो तेस्रो स्थानमा रहन सफल भए ।

भैरहवामा आयोजित उक्त प्रतियोगितमा पुरुष तर्फ ३४, ३८, ४२, ४७ र महिला तर्फ ३०, ३५, ४० र ४५ तौल समूहका खेलाडीहरु सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बुटवल डोजो, दिप बोर्डिङ स्कूल, एभरेष्ट बोर्डिङ स्कूल, कालिका कराँते डो एकेडेमी, मजुवा डोजो, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका खेलाडीहरु प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगिताका उपाधी चुमेको रोहिणीका खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका समूहलाई उनले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।

प्रतियोगितामा पुरुष तर्फ दिप बोर्डिङ स्कूलका गोविन्द अर्याल र महिला तर्फ कालिका कराँते डो एकेडेमीको अर्यधा ढकाल उत्कृष्ट खेलाडीको रुपमा छनोट भए । उनीहरुलाई पनि ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ । विभिन्न तौल समूहको खेलका विजेता अन्य खेलाडीहरुलाई मेडल र प्रमाण प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई पनि प्रमाण पत्रले सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरको उपमेयर उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले खेल र खेलाडीहरुको प्रोत्साहनका लागि अगामी बजेटमा कराँते खेलका लागि थप बजेट विनियोजन र योजनाहरुनिर्माण गर्ने बताइन् ।

‘खेलले नगरलाई विश्वमै पहिचान दिलाउन सक्ने भएकोले हामीले खेललाई प्राथमिकतामा राखेर काम गर्छौ’ उनले भनिन्, ‘समस्यामा आत्मरक्षाका लागि पनि उपयोगी हुने भएकोले कराँते खेल र खेलाडीहरुका लागि हामी सधै सकरात्मक छौँ ।’

उनले नगरपालिकाले अगामी दिनमा अझ थप प्रतियोगिताहरु आयोजना गर्ने जनाइन् । उनले अगामी दिनमा हुने प्रतियोगितामा प्रथम आउनेलाई नगरपालिकाका तर्फबाट पनि पुरस्कृत गर्ने बताइन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार