Logo

कोटिहवाको पशुपति माविका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति

ujyalosandesh online ७ आश्विन २०७९, शुक्रबार २१:०१ मा प्रकाशित

भैरहवा । कोटिहवामा रहेको पशुपति माध्यमिक बिद्यालयका ९ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच श्री प्रेम बहादुर श्रेष्ठ अक्षयकोषबाट छात्रवृत्ति बितरण गरिएको छ ।
कोभिडका कारण बिगतका २ बर्षहरुमा छात्रवृत्ति बितरण गर्न नसकेको कारण २०७६, २०७७ र २०७८ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको श्री प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका सचिव कृष्ण प्रसाद घिमिरेले जनाए ।
पञ्चकन्या समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले स्थापना गरेको अक्षयकोषबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार तथा गरिब बिद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । सोही क्रममा २०७६ सालमा प्रथम हुने स्मृति बस्यालले नगद १० हजार, द्वितिय हुने सुबिन गैरेले ५ हजार छात्रवृत्ति पाएका छन् । यस्तै २०७७ मा प्रथम हुने शिव हमालले १० हजार, द्वितिय हुने करुणा बस्यालले ५ हजार छात्रवृत्ति पाएका छन् । २०७८ सालको एसईईमा प्रथम हुने आशिक पन्थीले १० हजार, द्वितिय बिराज भट्टराई, तृतिय आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जिलाई जनही ५ हजार रुपैयाका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।
छात्रवृत्ति बितरण कार्यक्रमा बोल्दै तिलोत्तमा नगर पालिकाका प्रमुख रामकृष्ण खाँणले छात्रवृत्ति बापत प्राप्त भएको रकम उद्यममा खर्च गर्न बिद्यार्थीहरुलाई सुझाव दिए । उनले अहिले पराम्परागत शिक्षा प्रणाली भन्दा पनि सिपमूलक शिक्षामा जोड दिनु पर्ने भएकोले बिद्यार्थीहरु अहिले देखी नै उद्यमबारे सिक्न आवश्यक रहेको जिकिर गरे । “मलाई थाहा छ तपाईले पाएको रकम थोरै छ ।” खाँणले भने “एक जनाको रकमले नपुगे छात्रवृत्ति पाएका अन्य साथीहरुलाई जोड्नुस यसलाई उद्यममा लगाउनु र कोष वृद्धि तर्फ लाग्नुस ।”
खाँणले तिलोत्तमा नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी काम गरेको बताए । उनले आफुले पाउने सुविधा पनि तिलोत्तमाको शैक्षिक स्तर उकास्न खर्चिएको बताए । शिक्षाको बिकास गर्न सरकारी स्तरबाट मात्रै नपुग्ने भएकोले उनले निजि क्षेत्रलाई पनि यसमा सहकार्य गर्न आग्रह गरे । तिलोत्तमामा रहेको पञ्चकन्या समूहले यो काम गर्दै आएकोले धन्यवाद दिदै उनले शिक्षा क्षेत्रमा पञ्चकन्याको योगदानको प्रंशसा गरे ।
पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले पञ्चकन्या समूह नाफा कमाउने उद्देश्यमा मात्र नलागेर यस क्षेत्रको शैक्षिक बिकासमा सहकार्य गर्न तयार रहेको बताए । उनले पञ्चकन्या समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत पहिला पनि बिभिन्न शैक्षिक गतिविधिहरु गर्दै आएको जिकिर गरे । बाहिर मात्र हैन पञ्चकन्या समूहमा काम गर्ने कर्मचारी तथा कामदारका छोराछोरीको शिक्षामा पनि पञ्चकन्या गम्भिर रहेको उनले बताए ।
पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठको अध्यक्षता, तिलोत्तमा नगर पालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद बस्याल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, पञ्चकन्या समूहका महाप्रवन्धक देवेन्द्र साहु लगायतले बोलेका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार