Logo

मर्चवारमा १० करोडको लागतमा बन्दै आधुनिक शैक्षिक भवन

ujyalosandesh online १ मंसिर २०७९, बिहीबार २२:०२ मा प्रकाशित

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा १० करोडको लागतमा अत्याधुनिक बिद्यालय भवन निर्माण सुरु भएको छ । मर्चवार क्षेत्रमा प्राविधिक शिक्षाको साथै समग्र शिक्षाको गुणस्तर उकास्न बहुउद्देश्यीय बिद्यालय भवन निर्माण सुरु भएको हो ।
मर्चवारको सदरमुकाम मानिने मझगावामा मर्चवार आदर्श माध्यमिक विद्यालयलाई पुनःनिर्माण गरिन बहुउद्देश्यीय भवनको यस अघि नै भदौमै शिलान्यास समेत भई सकेको छ । लुम्बिानी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयको बहुवर्षिय बजेट अन्तर्गत बन्ने उक्त संरचनाको शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले शिलन्यास गरेका थिए ।
कोटहीमाई गाउँपालिका–५ मझगावामा उक्त विद्यालयको जिर्ण भएको पुरानो संरचना हटाएर तथा खाली ठाउँको प्रयोग गरी बहुवर्षीय आयोजनामा राखेर विद्यालय भवन बनाउन लागिएको मन्त्री खाँ ले जानकारी दिए ।
आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न हुने गरी ९ करोड ९९ लाख ९० हजारको लागतमा भवन बनाउन लागिएको मन्त्री खाँ ले बताए । विद्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०७९÷०८० एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, दोस्रो वर्षमा पाँच करोड र तेस्रो वर्षमा ३ करोड ४९ लाख ९० हजार रुपैयाँ छुट्याइने योजनामा उल्लेख छ ।


विद्यालयमा छात्रावास सहितको भवन बन्ने छ । मावि तहको पठनपाठनका साथै मन्टेश्वरी कक्षा पनि संचालन गर्ने तयारी छ । भवन तीन तल्लाको बन्ने विद्यालयले जनाएको छ ।
मन्त्री खाँले मर्चवारको समग्र विकासमा आफू र प्रदेश सरकार लागि परेको बताए । रुपन्देही जिल्ला मुलुकमै सुगम जिल्लाको सूचीमा आउने गरे पनि जिल्ला भित्रकै मर्चवार अझै पनि तुलनात्मक रुपमा पिछडिएको उनले बताए । उनले प्रदेश सरकार र केन्द्र सरकारको ध्यान मर्चवारको समग्र विकासमा लागेको बताए । “यसको लागि सबैभन्दा पहिला शिक्षाको गुणस्तर उकास्न आवश्यक रहेको छ ।” उनले भने “शिक्षा सुधार्न मैले मर्चवारमा बिशेष प्याकेज बनाएको छु, यहाका मूख्य बिद्यालय र अन्य बिद्यालयहरुमा यथेष्ठ बजेट बिनियोजना गरिनेछ ।”
मन्त्री खाँ ले शिक्षा संगै मर्चवारको स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारको साथै सामाजिक बिकासलाई समानान्तर रुपमा लैजाने बताए ।
“मर्चवार चक्रपथ निर्माणको योजना, प्राविधिक शिक्षालय, कन्या विद्यालय लगायत योजनाहरु पाइपलाइनमा रहेका छन ।” खाँ ले भने “यी योजना छिट्टै संचालन हुनेछन्, मर्चवार क्षेत्रमा प्राविधिक शिक्षालय निर्माणका लागि मन्त्रालय अग्रसर रहे पनि जग्गाको अभावका कारण योजना संचालनमा ढिलाई भइरहेको छ ।”


१० करोडको लागतमा भवन निर्माण भए पनि शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक र विद्यालय व्यवस्थापन समिति पनि लाग्नुपर्ने मन्त्री खाँ को भनाई रहेको छ । मर्चवारलाई कृषि सहरको रुपमा विकास गर्न योजना प्रदेश सरकारको रहेको उनले बताए ।
मन्त्री खाँ कै पहलमा कोटहीमाई गाउँपालिका–७ भंगहियामा दुई हजार आठ सय विद्यार्थी अध्ययन गर्ने मदरसा मदिनतुल इस्लाम अल सल्फियामा करिब २५ लाख लागतमा भवन निर्माण सुरु गरिएको छ ।
मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनमा खाँ नेपाली कांग्रेसबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार पनि हुन । उनि संगै प्रतिनिधि सभा सदस्यमा निर्वतमान सांसद प्रमोद कुमार यादव , क्षेत्र नम्बर ४ (ख) बाट नै अष्टभुजा पाठकले पनि प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार