
भैरहवा । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले निर्माणाधीन शंकरपुर–पजरकट्टी सडकको अनुगमन तथा निरीक्षण गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ को देवदह–११ र १२ शंकरपुरदेखि ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा पर्ने पजरकट्टीसम्म जोड्ने गरी ८ किलोमिटर दुरीको सडक सांसद विश्वकर्माले नै गत असार १ गते शिलान्यास गरेका थिए । यो सडकले रुपन्देही क्षेत्र नं १ लाई पुर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र भारतीय सीमासम्म जोड्ने छ ।
यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत १४ करोड २८ लाख रुपैयां लागतमा दुबैतिर नालीसहित दुई लेनको सडक बन्न लागेको हो ।
सडकको निरीक्षण गर्दै सांसद विश्वकर्माले गुणस्तरमा सम्झौता नगरी समयमै निर्माण पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । सडक निर्माणमा कमसल सामग्रीको प्रयोग र लापरवाही तरिकाले काम गर्दा गुणस्तरहीन हुने गरेको जनताबाट व्यापक गुनासो आउने गरेको उल्लेख गर्दै सांसद विश्वकर्माले गुणस्तरीय काम गर्न आग्रह गरे । उनले स्थानीय बासिन्दा र सडक उपभोक्ताले पनि निर्माण व्यवसायीको कामको अनुगमन गरी कमजोरी नगर्न दबाब दिनुपर्ने आग्रह गरे । यो सडक निर्माणले पछाडि परेको दक्षिणी क्षेत्रका नागरिक लाभान्वित हुने उनले बताए ।
निर्माणाधीन सडकको साइट इन्चार्ज एवं सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले २०८१ मंसिर मसान्तमा पूरा गर्ने गरी ३० महिनाको अवधि राखेर ठेक्का सम्झौता भएको बताए । निर्माण व्यवसायी निम कन्स्ट्रक्सनका प्रतिनिधि अर्जुनकुमार श्रेष्ठले असार १ गते शिलान्याश भएपनि वर्षायाम, चाडपर्व र आम चुनावका कारण काम शुरु हुन ढिला भएपनि अब ४ स्थानबाट काम शुरु गरी सम्झौता अवधि अगावै काम पूरा गर्ने प्रतिवद्धता जनाए ।
निरीक्षण टोलीमा रुपन्देही १(१) का प्रदेश सांसद आशिषकुमार चौधरी, पुर्व प्रदेश सांसद डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह नगरपालिकाका इन्जिनियर राजकुमार यादव,एमाले नेता सुनिल कुमार कौशल लगायत सहभागी थिए ।