Logo

मर्चवारमा बालबालिकालाई अपराधबाट जोगाउन टोल टोलमा प्रहरी

ujyalosandesh online १४ पुष २०७९, बिहीबार २२:४० मा प्रकाशित

हृदयराम गुप्ता

भैरहवा । कोटहीमाई गाउँपालिकामा बालबालिकाहरुलाई कुलत तथा अपराधिक कार्यबाट जोगाउन सचेतना कार्यक्रम निरन्तता पाएको छ । गाउँपालिकाको आयोजना तथा ईलाका प्रहरी कार्यालय मझगावाँ र सशस्त्र प्रहरी बल मझगावाँको सहयोगमा करीब १ महिना अगाडी सुरु भएको प्रहरी सचेतना कार्यक्रम टोल टोलमा पुगेको छ ।
सीमा अपराधको विषयमा कदमहवा क्षेत्रका बालबालिका, युवा तथा समाजिक अगुवाहरु बिच सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल मझगावाँका प्रहरी निरीक्षक तुलसीराम पाण्डेयले सिमा क्षेत्रमा हुने गरेको अपराधबारे प्रशिक्षण गरेका थिए ।
भारतबाट कस्ता सामान ल्याउन सकिने र कस्ता सामान लैजान सकिने, मानव बेचबिखनबाट कस्ता समस्या उत्पन्न हुन्छ, त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ, जिवजन्तु तस्करी अपारध, काठ दाउराको तस्करी अपराध, नेपाल भारतको सिमामा रहेको पिल्लरको सुरक्षाबारे उपस्थित सबैलाई प्रशिक्षण गरेका थिए ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक पंकज चुदालीले लागू औषधको प्रयोगले पारेको असरबारे बालबालिकाहरुलाई जानकारी दिएका थिए ।
लागु औषधको प्रकार, लागू औषधको प्रयोग तथा कारोबार गर्नेलाई हुने सजाय तथा दण्ड जरिवानाबारे सबैलाई जानकारी गराएका थिए । कुलतमा परेका बालबालिकालाई कसरी कुलतबाट निकाल्ने र तिनिहरुको पहिचान कसरी गर्ने विषयमा सहभागीलाई प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तव, कोटहीमाई गाउँपालिका वडा नं. ४ का पुर्व अध्यक्ष ओम प्रकाश पाण्डेय, कोटहीमाई गाउँपालिकाको सूचना प्रविधि अधिकृत राजन चौरसिया लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रम कोटहीमाई ४ का वडाध्यक्ष बेचुराम पालको अध्यक्षता तथा अजय सिंह क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार