Logo

ओमसतियामा “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम

ujyalosandesh online १९ पुष २०७९, मंगलवार १६:२८ मा प्रकाशित

विवेक विश्वकर्मा
भैरहवा । ओमसतिया गाउँपालिकाले “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बालमृत्युदर एवम मातृमृत्युदर घटाउने लक्ष्य सहित कार्यक्रम लागु गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन । यस संगै यसले दिगो विकासका लक्ष्यहरुलाई पनि गाउँपालिकामा लागु हुन सहयोग पु¥याउने अपेक्षा रहेको चौधरीले बताइन ।
कार्यक्रम अन्र्तगत पालिकाले चारपटक सुत्केरी जाच गरेको गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण सुरु गरेको छ । ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीका अनुसार यसरी उपलब्ध गराईने पौष्टिक आहारमा स्वादिलो हलुवा, मिठो दलिया र बिशेष प्रकारको खिर बितरण सुरु गरिएको छ ।
साउन यता सुत्केरी भएकी ४५ दिने महिला तथा स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराईरहेकी गर्भवती महिलालाई उपाध्यक्ष सुनिता चौधरी आफै घरदैलोमा पुगि शुभकामना संगै पोषण सामाग्री बितरण गर्ने गरेकी छिन् । यसले महिलाहरुमा स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको उनको भनाई छ । “हाम्रो लक्ष्य पनि त्यही हो, महिलाहरुले स्वास्थ्य संस्थालाई अधिकतम प्रयोग गरुन भन्ने ।” चौधरीले भनिन “घरदैलोमा शुभकामनासंगै गर्भ अवश्थामा हुने जटिलताको बारेमा पनि जानकारी दिने गरेकी छु ।”
स्वास्थ्यकर्मि संगै सम्बन्धित महिलाको घरघरमै पुगेर १ हजार ५० रुपैया बराबरको पौष्टिक अहार बितरण गर्ने गरिएको छ । गाउँपालिकामा सरदर बार्षिक ६ सय ६७ शिशुहरु जन्मिने गरेको तथ्यांक रहेको छ । यस बर्ष पालिकाले ५ सय ७८ जनालाई पुग्ने गरि बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनुं) ले बताए । उनले यो बजेट अपुग भए आवश्यकता अनुसार थप रकम यसैको लागि छुट्टयाउन सकिने बताए ।


यस संगै ओमसतियामै रहेको प्रसुति केन्द्रमा शिशु जन्म दिने महिलालाई १ हजार ५ सय बराबरको पोषण झोला पनि बितरण गर्ने गरिएको ज्ञवालीले जानकारी दिए । झोलामा सुत्केरीलाई आवश्यक पर्ने अण्डा, घ्यू, काजु, किसमिस, बदाम, नरिवल, ज्वाने र भेली जस्ता सामाग्री हु्ने गरेका छन् । ओमसतियामा बसन्तपुर स्वास्थ्य संस्था छोटकी रामनगर स्वास्थ्य संस्थामा गरि २ वटा प्रसुति केन्द्र रहेका छन् । गाउँपालिकामा यी प्रसुति केन्द्रमा जाने गर्भवती महिलाहरुलाई लक्षित गरि निशुल्क एम्बुलेन्सको ब्यवस्था पनि रहेको स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार