Logo

रोहिणी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

ujyalosandesh online २८ माघ २०७९, शनिबार २२:४४ मा प्रकाशित

भैरहवा । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा ७६५ जनाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सकसहितको टीमबाट सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, महिला तथा प्रसुती सम्बन्धी रोग, छाला रोग, नाक, कान, घाँटी, मुटुरोग, दाँत तथा गिजासम्बन्धि परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बताए । त्यस्तै शिविरमा रगत परीक्षण, मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको केसीले जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई पहेलो कार्ड प्रदान गरिएको छ, उक्त कार्ड लिएर अस्पतालमा आउने बिरामीलाई उपचारमा २० प्रतिशत छुट र नर्मल बेडको निःशुल्क व्यवस्था गरिनेछ ।’ त्यस्तै बिरामीलाई अस्पतालसम्म जाने र घर फर्कन निःशुल्क यातायातको व्यवस्था गरिने केसीले जानकारी दिए । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि गाउँपालिकाले युसीएमएमसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘युसीएमएसले रोहिणीसहित विभिन्न क्षेत्रका जनताको उपचारमा सहयोग पुर्याउँदै आएको छ, म युसीएमएसलाई धन्यवाद दिन चाहन्छु ।’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको अध्यक्ष यादवले बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीको स्वागत तथा पिपरहवा माविका शिक्षक राधेश हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार