
भैरहवा ।
लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले प्रदेशभरीका सम्पूर्ण सामूदायिक विद्यालयहरुमा अंग्रेजी भाषामा पढाउन सुरु गर्ने बताएका छन् । प्रदेशका मुख्य शहरहरुमा केही सामूदायिक विद्यालयहरुले अंग्रेजी भाषामा पढाउने गरेको भए पनि प्रदेशका ग्रामीण भेगमा पनि नर्सरीदेखि नै अंग्रेजी भाषामा पढाउने गरी गृहकार्य गर्ने बताएका हुन् ।
दाङको देउखुरी उपत्यकामा पदभार ग्रहण पछि मन्त्री गुप्ताले विद्यार्थी र अभिभावकको रोजाई सामूदायिक विद्यालयमा बनाउने गरी काम गर्न मातहतका कर्मचारी तथा सरोकारवालाहरुसँग आग्रह गरे । सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धि गर्नु आफू हरपल लागिरहने मन्त्री गुप्ताले बताए । त्यस्तै, प्रदेशबासीको सामाजिक सुरक्षामा समेत आफूले महत्वपूर्ण काम गर्ने उनले बताए ।
प्रदेशभित्र रहेका महिला, जेष्ठ नागरिक, अल्पसंख्यक, दलित, मुस्लिम, मधेशी लगायत आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका प्रदेशबासीहरुको उत्थानको लागि काम गर्ने मन्त्री गुप्ताले बताए । जनमत पार्टीबाट रुपन्देही ५ (२) बाट निर्वाचित गुप्ता पार्टीको संसदीय दलको नेता समेत हुन् ।