
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा खस्किदो शैक्षिक गुणस्तर सुधार्न प्रधान अध्यापकहरु संगै अन्य शिक्षकको काज सरुवा गर्ने जनाएको छ । राम्रो नतिजा दिन नसक्ने एवम राजनितिमा बढी लागेका प्रधान अध्यापकहरुलाई आगामी शैक्षिक सत्रमा पालिकाकै अन्य बिद्यालयहरुमा काज सरुवा गर्ने गाउँपालिकाले जनाएको छ ।
ओमसतिया गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) कडा रुपमा प्रस्तुत भए । उनले प्रधान अध्यापकहरु बिद्यालयमा शैक्षिक क्रियाकलापमा भन्दा अन्य काममा बढी ध्यान दिएको आरोप लगाए । “संस्थागत बिद्यालयहरु भन्दा सामुदायिक बिद्यालयहरुमा तुलनात्मक बढी सुविधा हुन्छ ।” यादवले भने “तर नतिजा सामुदायिक भन्दा संस्थाको राम्रो आउछ, यसमा तपाईहरुको लापारवाही छैन ?”
अब देखि ओमसतियामा लापारवाही नचल्ने यादवले चेतावनी दिए । गाउँपालिकाले दिने सेवा सुविधा पालिकाले उपलब्ध गराउने र शिक्षकले पनि आफ्नो तर्फबाट सर्वोत्कृष्ट दिन उनले आग्रह गरे ।
ओमसतिया गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिकाका जनप्रतिनिधि देखि कर्मचारी सम्मले ऐक्यवद्धता जनाएका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले शिक्षकहरुलाई राजनिति र शिक्षण पेशामा कुनै एक रोज्न सुझाव दिएकी छन । उनले पनि शैक्षिक गुणस्तरको सुधारको लागि शिक्षकको सरुवा अनिवार्य रहेकोले यस सम्बन्धि पालिकाले आफ्नै कानून बनाइ अघि बढने बताईन ।
गुणस्तरिय शिक्षाको लागि शिक्षक संगै बिद्यालय ब्यस्थापन समिति एवम अभिभावकले पनि उत्तिकै चासो दिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले आग्रह गरे । ओमसतिया गाउँपालिकामा १६ वटा सामुदायिक, १४ वटा संस्थागत एवम ५ वटा धार्मिक बिद्यालय रहेको बताउदै उहाले यी सबैको शैक्षिक गुणस्तरको लागि पालिका कठोर निर्णय गर्न बाध्य भएको उनले जनाए ।
ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षता एवम उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, शिक्षकको तर्फबाट राजकुमार गुरुङ्ग, महेश चौधरी, ईनल यादव लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले गरेका थिए ।