
भैरहवा । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी–७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस–२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ४७६ जनाको स्वास्थ्य परीक्षण भएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले बताए ।
शिविरमा दाँत तथा गिजा, महिलारोग, बालरोग, नाक, कान, घाटी, जनरल फिजिसियनसम्बन्धि चेकजाँच तथा परामर्श, रगत परीक्षण, मृटुको ईसिजी सेवा प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा दाँत तथा मुख रोगरोगसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले नागरिकलाई नजिकबाट स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले यसअघि अन्य वडामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए । अध्यक्ष यादवले निरन्तर सहयोग गर्दै आएको युसीएमएस धन्यवादको पात्र भएको बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत क्षेत्रमा ध्यान दिदै गाउँपालिकाको विकासका लागि अघि बढेका छौं । ’
रोहिणी गाउँपालिका–७ का वडाअध्यक्ष अन्नान अहमद भाटको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, प्रवक्ता वीर बहादुर क्षेत्रीको स्वागत तथा इन्द्रजीत रायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।