Logo

कोेटहीमाई गाउँपालिकाद्वारा छात्रालाई साइकल वितरण

ujyalosandesh online २८ चैत्र २०७९, मंगलवार ०७:०१ मा प्रकाशित

मर्चवार । रुपन्देहीको कोेटहीमाई गाउँपालिकाले २०७९ सालको एसईई परीक्षामा सहभागी छात्राहरुलाई साइकल वितरण गरेको छ । छात्रालाई शिक्षा क्षेत्रमा सहयोग होस् भन्ने उद्देश्यले गाउँपालिकाभित्रका सामूदायिक विद्यालयका २०३ जना छात्राहरुलाई साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी सापकोटाले जानकारी दिइन् ।

एसईईपछिको अध्ययनलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । प्रत्येक घरको छोरीलाई विद्यालय र उच्च शिक्षाको पहुँचमा ल्याउन उक्त योजना लागू गरिएको अध्यक्ष त्रिपाठीले बताए । उनले भने, ‘अहिले कक्षा १० सम्म अध्ययन गर्न आफ्नै वडाभित्र रहेको विद्यालयमा पुग्न सहज थियो तर कक्षा ११ देखिको माथिको पढाई अन्य वडामा जानुपर्ने भएकोले साइकलको अभावले कोही शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई साइकल वितरण गरेका छौँ ।’ छोरीलाई प्रोत्साहन गर्न यस्तै छोरी जन्म प्रोत्साहन, छोरी विवाह प्रोत्साहनलगायत विभिन्न योजना ल्याइ कार्य अघि बढेको अध्यक्ष त्रिपाठीले बताए ।

कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले हरेक घरको छोरीले समाज र आफ्नो भविष्यको लागि उच्च शिक्षा हासिल गरी शिक्षित बन्न गाउँपालिकाले विभिन्न योजनाहरु ल्याइरहेको बताइन् । गाउँपालिकाभित्र रहेका हरेक छोरीलाई उच्च शिक्षा प्रदानको लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको र त्यसमा अभिभावकको सहकार्य रहेको बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विहानी कक्षा सञ्चालन भएको क्याम्पसमा छात्राहरुलाई समयमै पुग्नका लागि साइलकले धेरै सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सवारीसाधनको अभावले विद्यालय जान बाधा नहोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको श्रीवास्तवले बताए ।

कोटहीमाई गाउँपालिकाभित्र रहेका श्री लालबिहारी माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, मर्यादपुर माध्यमिक विद्यालय, तुनिहवा माध्यमिक विद्यालय, मर्चवार आदर्श माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय र बोगडी माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्रशासन सहायक मनोहर चौधरीले बताए । यी सामुदायिक विद्यालयमा कक्षा १० मा भर्ना भएका २३२ जनामध्ये एसईई परीक्षामा सहभागी २०३ जना छात्रालाई साईकल वितरण गरिएको चौधरीले जानकारी दिए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार