Logo

भैरहवामा सक्कली बोतलमा नक्कली रक्सी, दुई जना पक्राउ

ujyalosandesh online ११ जेष्ठ २०८०, बिहीबार ०७:०७ मा प्रकाशित

भैरहवा । नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुईजना युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीकाअनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय मूख्तार पठान र सोही ठाउँ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।

प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल नक्कली मदिरा बरामद गरेको छ । त्यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा विक्रीवितरण गर्ने गरेका थिए ।

बजारमा नक्कली मदिरा विक्री भएको गुनासो बढेपछि मदिरा व्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जाँदा नक्कली मदिरा विक्रीवितरणमा यी दुई युवाहरुको संलग्नता देखियो,’ मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनीहरुद्वारा विक्री गरिएको मदिरा फेला परेपछि प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ  गरिएको हो ।

सिग्नेचर, ओल्ड दरवार, एटएटफोएट ब्राण्डका रक्सीहरु बजारमा अभाव भइरहेको समयमा विभिन्न होटलहरुमा सोही रक्सीहरु सस्तो मुल्यमा विक्री भइरहेको भन्ने सूचना पाएपछि यहाँका मदिरा व्यवसायी यसको निगरानीमा लागेका थिए । सोहीक्रममा करिब ३३ हजार रुपैयाँ बराबरको अवैध रक्सी, नक्कली स्टिकर र सक्कली रक्सीका खाली बोटल बरामद गरी प्रहरीलाई बुझाएका हुन् ।

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्ट्रिलरीका क्षेत्रीय विक्री प्रबन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीमा पानी वा तल्लोस्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाइ छ ।

पक्राउ परेका दुवै आरोपीलाई बरामद सामानसहित थप कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय भैरहवामा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार