
भैरहवा । न्यायिक समिति ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजनामा न्याय निरुपण सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ओमसतिया–३ स्थित गाउँपालिका सभाहलमा शुक्रबारदेखि कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले प्रशिक्षण कार्यक्रमले न्यायिक समिति सदस्य र मेलमिलापकर्तालाई न्याय निरुपणका लागि अगाडि बढ्न सहयोग गर्ने बताए । उनले भने, ‘राम्रोसँग जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीले मेलमिलापकर्ताको भूमिका बढाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय न्यायिक समितिमा उजुरीको संख्या बढेको बताइन् । उनले न्यायिक समितिलाई प्रभावकारी बनाउन लागिपरेको बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले विवाद आउन नदिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले जग्गासम्बन्धी धेरै विवाद आउने गरेको बताए ।
कार्यक्रमका प्रशिक्षक तथा उच्च अदालत तुलसीपुर बुटवल इजलासका शाखा अधिकृत बसन्त कुमार ढुंगानाले मेलमिलाप विवाद समाधान गर्ने उपाय भएको बताए । उनले भने, ‘स्थानीय सरकार लोकतन्त्रको जग हो । मेलमिलापले विवाद निरुपण गर्छ । ’
सहभागीकोतर्फबाट बोल्दै अच्युत प्रसाद भट्टराईले मेलमिलापकर्ताको भूमिकालाई बढाउन र सक्रिय बनाउन आग्रह गरे ।
ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)को प्रमुख आतिथ्यता, न्यायिक समिति सदस्य तथा ओमसतिया–३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरीको स्वागत तथा श्रीधर जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।