Logo

नेपाल शिक्षक संघ मर्चवारीले स्थानीय तहलाई बुझायो ज्ञापनपत्र

ujyalosandesh online ९ असार २०८०, शनिबार ०७:२५ मा प्रकाशित

भैरहवा । विभिन्न ८ बुँदे माग राख्दै नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति मर्चवारी गाउँपालिका, रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राख्दै मर्चवारी गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको शिक्षक संघ मर्चवारीका सचिव केशव कुमार उपाध्यायले बताए ।

संघीय सरकारबाट रु. १० हजार र स्थानीय तहबाट रु. ७ हजार थप गरी बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक रु. १७ हजार पुर्याउनुपर्ने,  विद्यालय कर्मचारी (कार्यालय सहयोगी) को हकमा संघीय सरकारबाट रु. ८ हजार र स्थानीय तहबाट रु. ७ हजार थप गरी मासिक रु. १५ हजार पुर्याउनुपर्ने र गाउँपालिकाका शिक्षकको हकमा नेपाल सरकारले तोकेको स्केलबमोजिम तलब भत्ता प्रदान गर्ने र यी शिक्षकहरुलाई दशैं खर्च तथा पोशाक खर्चसमेत उपलब्ध गराउनुपर्ने संघको माग छ ।

त्यस्तै विद्यालयको भौतिक अवस्था सुधार गरी विद्यालय पूर्वाधार अन्तर्गत कक्षाकोठा व्यवस्थापन, बालविकास तथा व्यवस्थापनका लागि आवश्यक सामग्री, छात्रामैत्री शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, खानेपानी, फर्निचर, विद्युतीय सामग्रीलगायतको अनिवार्य व्यवस्थामापन गर्ने शिक्षामा बजेट वृद्धि गर्नुपर्ने, वातावरणमैत्री विद्यालय बनाउन सुन्दरीकरण, रंगरोगन तथा वृक्षारोपण गर्न आवश्यकताअनुसार बजेटको व्यवस्था मिलाउनुपर्ने र विद्यार्थी संख्याको चाप बढी तथा कक्षाअनुसारको शिक्षक उपलब्ध नभएका विद्यालयहरुमा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था मिलाइ शिक्षक पदपूर्ति गर्नुपर्ने संघले माग गरेको छ ।

त्यसै गरी शिक्षकको पेशागत विकासका लागि विभिन्न किसिमका तालिमहरुको आयोजना र विपदकोे बेलामा प्रविधिको माध्यमबाट सिकाइ पहुँच बढाउन एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने र शिक्षासम्बन्धी गाउँपालिकास्तरीय बैठकमा कुनै पनि नीति तथा कार्यक्रमहरु बनाउँदा नेपाल शिक्षक संघलाई पनि सहभागी गराउनुपर्ने ज्ञापनपत्रमार्फत माग राखिएको शिक्षक संघ मर्चवारी गाउँपालिकाका अध्यक्ष प्रमोद यादवले बताए ।

बुझेपश्चात बोल्दै मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले केही माग यसैवर्ष सम्बोधन गर्ने र बाँकी अर्को वर्ष सम्बोधन गर्ने आश्वासन दिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार