
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुहुँदैन भनेर रास्वपाले कहिले भन्यो भन्दै प्रश्न गरेका छन् । उनले रास्वपा नागरिकता विधेयकको विरोधी हो भनेर भास्य निर्माण गर्न खोजिएको बताए । उनले के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै सभापति लामिछानेले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकसम्बन्धमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए ।
उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताए । रास्वपा कुनै दलको पछाडि लाग्ने पार्टी नभएको दावी गरे । उनले विगतको निर्वाचनमा भएभरका पार्टीहरु एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको बताए । उनले संसद् बैठकमा मिटरब्याज पीडितको आवाज बोल्न खोज्दा बोल्न नपाएको र आगामी बैठकमा बोल्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतको सहयोग रहेको भन्ने अभिव्यक्तिबारे भन्नेबारे रास्वपाले जवाफ माग्ने लामिछानेले बताए ।
सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गरे ।
उनले भने, ‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेको छ । सरकारले जति भ्रष्टहरुलाई समात्छ, हामीलाई त्यति नै फाइदा हुन्छ । २०८४ पछि हामी आइहाल्छौं ।’
उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आम नागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।
राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिए ।