
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईनमार्फत क्रियाशिल सदस्यता नविकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीतिअनुरुप यही साउन ६ गतेदेखि अनलाईनमार्फत क्रियाशिल सदस्यता नवीकरण गर्ने निर्णय गरिएको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राविधिक टीमको समेत व्यवस्था मिलाईएको उनले जानकारी दिए ।
त्यस्तै साधारण सदस्यता लिन इच्छुकले पनि अनलाईनमार्फत नै कांग्रेसको सदस्यता लिन पाउने भएका छन् । अनलाईनमार्फत साधारण सदस्यता विश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने व्यवस्था मिलाइएको छ । अनलाईनमार्फत साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशिल सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै यही साउन ६ गते नै ४२ औं विपी स्मृति दिवसको अवसर पारेर वृक्षारोपण पनि गरीने भएको छ । महामानव विपीको स्मृतिमा रुपन्देहीको तित्तोतामा वडा नम्बर ११ स्थित भुुपुु सैनिक सखौरा हरियाली वन क्षेत्रमा बिहान ८ बजेदेखि वृक्षारोपण गरिने भएको हो । विपीको स्मृतिमा कांग्रेस रुपन्देहीले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ ।
त्यस्तै जारी वडा, नगर, पालिका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय पनि गरिएको सचिव हरि काफ्लेले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति अनिता शाह ढुुंगानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।