
भैरहवा । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी प्रमुख अतिथि रहेको किवानिज नेपालको राष्ट्रिय सम्मेलन बहिष्कार गरेका छन् । शुक्रबार साँझ भैरहवामा सुरु भएको किवानिज नेपाल डिस्ट्रिक्टको पाचौं सम्मेलनको सुरुमै फिलिपिन्सको राष्ट्रिय गान बजे पछि चौधरीले नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै कार्यक्रमको बहिष्कार गरेको उनको सचिवालयले जनाएको छ ।
मूख्यमन्त्री चौधरीका प्रेस सल्लाहकार गोपल शर्माका अनुसार कार्यक्रमको सुरुमै राष्ट्रिय गान बजे पछि मूख्यमन्त्री असन्तुष्ट भएका थिए । “नेपाली भूमिमा अन्र्तराष्ट्रिय गान बजाएर नेपालको अपमान भयो, म यस्तो कार्यक्रममा सहभागी हुन सक्दैन ।” भन्दै बाहिष्कार गरेर हिडेको प्रेस सल्लाहकार शर्माले जानकारी दिए । सुरुमै नेपाली राष्ट्रिय गान बजाउनुको सट्टा बिदेशी राष्ट्रिय गान बजाउनु राष्ट्रियतामाथि हस्तक्षेप भएको मूख्यमन्त्रीको ठहर रहेको शर्माले जनाए ।
कार्यक्रममा फिलिपिन्सी नागरिक एवं किवानीज एसप्याक चियर बेल गारसिया विशेष अतिथिको रुपमा उपस्थित थिए । उनैलाई प्रभावित बनाउन आयोजकले सुरुमा फिलिपिन्सको राष्ट्रिय गान बजाएका थिए ।
किवानीज क्लब अफ रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा मुलुकभरिबाट ५ सय बढी किवानिजहरु भैरहवाको सम्मेलनमा सहभागी भएको आयोजकको भनाई छ । किवानीज इन्टरनेशलन अमेरिकामा मुख्य कार्यालय रहेको बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो । ९० वटा देशमा शाखा रहेको किवानीजले विश्वभरीका बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र खेलकुदका क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको छ ।