
अर्घाखाँची । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू आइतबार भएको छ।युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको भूवनेश्वर नगर पालिकाका १२ महिला सहित२६ जना कफी व्यवसायी तथा किसानको सहभागिता छ।कफीको लागि धेरै सम्भावना बोकेको अर्घाखाँची जिल्लामा कफीको वैज्ञानिक,दिगोतथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ निर्यात क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।मुलुक संघियतामा गइसकेको अवस्थामा स्थानीय तह मार्फत उद्यमी तथा किसानलाईकफी मूल्य श्रींखलामा उनीहरूको उच्चतम सहभागीता सहभागिता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कफी उत्पादक तथा कफी व्यवसायिक महासंघका अर्घाखाँची जिल्लाकोषाध्य पुष्कर नाथ बन्जाडेले अर्घाखाँची जिल्लामा विगतमा धेरै किसान कफी व्यवसायमा लागेको भए पनि बजारीकरण अभाव तथा रोगकिरा व्यवस्थापनको ज्ञान नहुँदा धेरै किसानहरू कफी व्यवसायबाट पलाएन भएको स्मरण गर्दै वैज्ञानकि कफी उत्पादन क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमा यस किसिमको तालिमले दिगो तथा व्यवसायिक कफी उत्पादनमा सहयोग पुग्ने बताए । तालिमकी सहभागी विष्णु माया घमले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।
भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । थापाले ठूलामात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको क्षमता स्थानीय तहबाटै विकास गर्नु पर्ने आवश्यकतामा जोड दिए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताए।कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवालयका उपसचिव मात्रिका आचार्य, कृषि तथा पशुविकास मन्त्रीका निजी सचिव सुशील भट्टराइ,इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम आइटिसीका संयोजक डा विदुर घिमिरेले नेपालमा कफीको सम्भावना पर्याप्त भएको बताउँदै स्थानीय तहसँगको सहकार्य मार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन गरी कफीको निर्यात बढाउन स्थानीय किसानको लागि आयोजना गरिएको तालिमले सहयोग पुग्ने बताए ।