Logo

लुम्बिनीमा पर्यटक बढे, बढेन बसाइ (फोटो फिचर)

ujyalosandesh online १३ भाद्र २०८०, बुधबार १३:११ मा प्रकाशित

राधेश्याम विश्वकर्मा
भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुदै गएको छ । कोभिडपछिका बर्षहरुमा बिस्तारै पर्यटकहरुको संख्या उकालो लाग्दै गरेको तथ्यांकहरुले देखाएको छ । लुम्बिनी बिकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार गत बर्षको तुलनामा अहिले लुम्बिनीमा तेश्रो मुलुकका पर्यटक आगमनमा ३ सय प्रतिशत भन्दा बढी संख्याले वृद्धि भएको छ ।
लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन २०२२ को तुलनामा सन २०२३ को जुलाई महिना सम्ममा राहदानी वाहक पर्यटकहरुको संख्यामा तीन सय प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यस्तै भारतीय पर्यटकहरुको आगमनमा ३० प्रतिशत र सोही हाराहारीमा आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको उनले बताए ।


सन २०२२ मा लुम्बिनीमा जुलाई महिना सम्ममा ३ हजार ९ सय ७५ जना तेश्रो मुलुकका पर्यटकहरुको आगमन भएको थियो । सो बर्ष कुल २३ हजार ९ सय ४२ जना पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेको सूचना अधिकृत राईले जानकारी दिए । गत बर्ष लुम्बिनीमा भारत बाहेक ९६ देशका पर्यटकहरुको आगमन भएको थियो भने चालु बर्षमा जुलाई महिना सम्ममा ६७ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
सन २०२३ को जुलाई महिना सम्ममा राहदानी वाहक ३६ हजार ९ सय ९७ जना पर्यटकहरुको आगमन भएको छ । चालु अग्रेजी बर्षमा सबै भन्दा बढी पर्यटक पुष, माघ र फागुन महिनामा आएका छन् । कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सबै भन्दा बढी फेब्रुअरीमा १२ हजार ५ सय २२ जना र मार्च महिनामा १२ हजार २ सय ९७ जना तेश्रो मुलुकको पर्यटकको आगमन भएको छ । लुम्बिनीमा सबै भन्दा कम पर्यटक सन २०२१ मा १ हजार १ सय ९७ जना मात्र आएका थिए ।


भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण पछि यहा भारतीय पर्यटकहरुको पनि संख्यामा उल्लेख्य वृद्धि हुदै गएको छ । २०२२ को जुलाई महिना सम्ममा भारतका १ लाख ६ हजार ४ सय ६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा चालु अंग्रेजी बर्षको जुलाई महिना सम्ममै १ लाख ४३ हजार ९ सय ६८ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांकमा उल्लेख छ । यसै अवधिमा ३ लाख ७९ हजार ३ सय ६० जना नेपालीले लुम्बिनीको भ्रमण गरेको कोषका सूचना अधिकृत हरिध्वज राईले बताए । अक्टोबर देखि मार्च महिना पर्यटकिय सिजन रहेको कारण यस बर्ष लुम्बिनीको पर्यटक आगमनमा ब्यापक सुधार हुने लुम्बिनी बिकास कोषको अपेक्षा रहेको छ ।
निराश ब्यवसायी
लुम्बिनीमा तेश्रो मुलुकका पर्यटकहरुको आगमन बढे पनि यसको अपेक्षाकृत फाईदा यहाका ब्यवसायी एवम स्थानियहरुले पाईरहेका छैनन् । अहिले लुम्बिनीमै १ सय १० वटा होटलहरु सञ्चालनमा रहेका छन् । प्राय सबै होटलहरु आन्तरिक पर्यटकको भरमा थेगिएका छन् । बाह्य पर्यटकहरु होटल सम्म पुग्नै नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली गुनासो गर्नुहुन्छ । “अहिले लुम्बिनमिा बाह्य पर्यटकहरु बढेको समाचार आईरहेको छ तर यसको फाईदा हामीलाई हुदैन ।” ज्ञवालीले भने “उहाहरुलाई हामीले लुम्बिनीको बारेमा बताउनै सकेका छैनौ ।”
प्राय सबै बिदेशी पर्यटकहरु मायादेवी मन्दिरको अवलोकन गरि फर्किने गरेको उनि बताउछन् । गौतम बुद्ध संग सम्बन्धित अन्य स्थलहरुको बारेमा पर्यटकहरुलाई जानकारी नै गराईदैन । यस बाहेक बसाई लम्ब्याउने खालका अरु केही क्रियाकलापहरु नभएको ज्ञवालीको गुनासो छ ।


पर्यटक बढे ,  बढेन बसाई
लुम्बिनीमा तेश्रो मुलुकको पर्यटकहरुको आगमन बढे पनि उनिहरुको बसाई लुम्बिनीमा हुने गरेको छैन । प्राय सबै पर्यटकहरु भारतीय ट्राभल एजेन्सी मार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्ध संग जोडिएको अन्य तिर्थस्थलहरु पर्यटहरुको रोजाईमा पर्ने गरेको छैन । बृहत्तर लुम्बिनी अन्र्तगत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवम रामग्राम अधिकांश तिर्थालुहरु पुग्नै पाउदैनन् ।
पर्यटकहरु लुम्बिनमिा अडिन नसक्दा यसको फाईदा स्थानिय स्तरमा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केही बेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्तिले समस्या थपिएको हो ।
पर्यटकको बसाई लम्ब्याउने बिषयमा बिद्यावारिधि समेत गर्नुभएका लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले लुम्बिनीमा पर्यटकको बसाई औषतमा २ दिन पनि नहुने गरेको बताउछन् । “अहिले अध्ययन गरिएको छैन तर सन २००४ मा लुम्बिनीको पर्यटकको औषत बसाई १ दशमलव ८५ दिन थियो ।” राईले भने “२०१९ मा मैले बिद्यावारिधिको क्रममा अनुसन्धान गर्दा त्यो बढेर १ दशमलव ८७ दिन पुगेको थियो, त्यसपछि फेरी अध्ययन गरिएको छैन ।”


यसरी बस्ने पर्यटकले आफ्नो भ्रमण अवधिभरि ८५ डलर खर्च गरेको देखिएको राईले बताए । खर्च अनुपात बिश्लेषण गर्ने हो भने प्रत्येक भ्रमण बराबर मक्का मदिनामा पर्यटकले १५ हजार डलर र जेरुसेलममा औषतमा ७ हजार डलर खर्च गर्ने गरेको राईको भनाई छ । “यी सबै तिर्थस्थलहरु समान हैसियतका गन्तब्यहरु हुन, जुन बिभिन्न धर्म प्रवर्तकहरुको जन्मस्थलहरु हो ।” राईले भने “लुम्बिनीलाई पनि मक्का मदिना जस्तै प्रवद्र्धन गर्नुपर्ने राज्यको लक्ष्य हुुनुपर्ने हो ।”
यसरी बढाउन सकिन्छ पर्यटक बसाई
लुम्बिनीमा पर्यटकहरुको बसाई अवधि बढाउन लुम्बिनीमा बिभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना हुनुपर्ने धारणा स्थानिय स्तरमा उठेको छ । धार्मिक कार्यक्रमहरुमा तेश्रो मुलुकका बौद्ध धर्महरुको आगमनसंगै उनिहरुको अनुयायीहरुको संख्यामा पनि वृद्धि हुने पर्यटन ब्यवसायीहरुको भनाई छ । तर पछिल्लो समय लुम्बिनीमा यस्ता धार्मिक कार्यक्रहरुको आयोजना हुनै सकेको छैन । मोन्लम, त्रिपिटक च्यान्टिङ्ग, बौद्ध सम्मेलन लगायतका कार्यक्रमले कुनै बेला गुल्जार हुने लुम्बिनीमा अहिले यस्ता कार्यक्रमहरुको अभाव खटकिरहेको छ । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक बसाईको योजना बनाउनु पर्ने समय आएको बताउहुन्छ । “पर्यटन भनेको यसरी हुदैन, यसलाई गहिराईमा पुगेर अध्ययन गर्नुपर्ने हुन्छ ।” ज्ञवालीले भने “हाम्रो कमि कमजोरी के हो, हामी कहा चुक गरिरहेका छौं ? लगायत बारे बिश्लेषण गरेर अगाडी बढ्नुपर्ने समय आएको छ ।”


यस संगै गुणस्तरिय पर्यटकहरुको लागि सेवा पनि गुणस्तरिय हुनु पर्ने सरोकारवालहरुको भनाई छ । पर्यटकको बसाई लम्ब्याउने बिषयमै बिद्यावारिधि गर्नुभएका हरिध्वज राईले लुम्बिनीको पर्यटनलाई शान्तीको अवधारणमा लैजानुपर्ने सुझाव दिनुहुन्छ । “बृहत्तर लुम्बिनीको कुनै पनि क्षेत्रमा बिदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूतिको साथै सोही अनुसारको वातावरण तयार गरि दिनुपर्छ ।” उनले भने “रातको २ बजेको समयमा कतै शान्त स्थानमा बसेर ध्यान गरोस त्यसलाई कुनै प्रकारको बाधा नपरोस, त्यस्तो वातावरण बनाई दिनुप¥यो ।”
यस संगै पर्यटक गतिविधिमा पनि जोड दिनु पर्ने राईको तर्क छ । लुम्बिनीमा धार्मिक स्थलहरुको तिर्थाटन संगै ध्यान, प्राकृतिक भ्रमण, गाउँ भ्रमण, चरा अवलोकन, स्थानिय सांस्कृतिक कार्यक्रमहरुको अवलोकन संगै लुम्बिनीमै हुने उत्सवहरुमा पर्यटकहरुको सहभागीता गराउनुपर्ने उनको भनाई छ । यसको लागि लुम्बिनीलाई सजिव सम्पदाको रुपमा बिकास गर्नुपर्छ । मायादेवी मन्दिर बन्द गर्दा, खोल्दा बिशेष पूजा गरेर गर्ने, रातीमा मायादेवी मन्दिरमा प्रवचन लगायतका कार्यक्रमहरु गर्न सकिन्छ ।

default

यस बाहेक लुम्बिनीबाट केही दुरीमा भैरहवा, बुटवल लगायतका क्षेत्रमा रहेका मनोरन्जनात्मक गतिविधिमा पनि पर्यटकलाई भुलाउनु पर्ने आवश्यकता रहेको छ । लुम्बिनीमा पर्यटक भुलाउन मिश्रित बजार प्रणालीमा जानुपर्ने यहाको सरोकारवालाको सुझाव छ । योजना मात्र बनाएर नभई यसको बिक्रि एवम प्रवद्र्धनमा पनि जानु पनि आजको आवश्यकता हो ।
यस्तो छ कोषको आगामी योजना
लुम्बिनी विकास कोषले पर्यटकहरुको बसाई अवधि लम्ब्याउने योजनाहरु चालु आर्थिक बर्षमा निति तथा कार्यक्रममै समावेश गरेको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटक लक्षित बिभिन्न कार्यक्रमहरुको योजना बनाईएको जानकारी दिए । यो आर्थिक बर्षमा पर्यटन जोडिने गरि महत्वपूर्ण धार्मिक कार्यक्रमहरुको आयोजना गरिदैछ ।
कोषका सदस्य सचिव शाक्यले बुद्ध जयन्ती मात्र नभई महायानी पराम्परा अनुसारको मोन्लमको संख्या बढाइने जानकारी दिए । “गत बर्ष २–३ वटा मात्र मोन्लम गरिएको थियो, यस बर्ष हजार भन्दा बढी सहभागी हुने गरि ४–५ वटा मोन्लम गर्ने योजना बनाएका छौं ।” उनले भने “यी कार्यक्रम संगै पर्यटन पनि जोडिन्छ, यसमा आनी लामा मात्रै नभई बिदेशीहरु पनि सहभागी हुने गरेका छन् ।”


यस्तै थेरावादी पराम्परा अनुसार गत बर्ष ५ सय जनालाई भिक्षु बनाईएकोमा यस बर्ष त्यसलाई १ हजार जनालाई सहभागी गराईने योजना रहेको छ । यस बाहेक लुम्बिनीमा “हरेक पूर्णिमा बिशेष पूर्णिमा” को रुपमा मनाउने र मायादेवी मन्दिरमा तिर्थयात्री एवम पर्यटकहरुको लागि मनासिब शुल्कमा द्विप प्रज्वलन गर्ने ब्यवस्था मिलाइने कोषले योजना बनाएको छ । लुम्बिनीमा प्रवज्या कार्यक्रम, त्रिपिटक वाचन, बिभिन्न पराम्परा अन्र्तगतका पूजा लगायतका कार्यक्रमहरु गर्ने शाक्यले जानकारी गराए ।
यस्तै लुम्बिनी प्रदेश सरकारको “लोरेन्ट एण्ड लिडर्स” कार्यक्रम अन्र्तगत विश्वका बिभिन्न धार्मिक र राजनितिक नेतृत्वलाई आमन्त्रण गरि शान्तीका लागि विश्व शान्ती सम्मेलनमो आयोजना समेत गरिने भएको छ । पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्य सहित बुद्ध जन्मको कथामा आधारित लाईट उण्ड साउण्ड प्रविधिमा आधारित एशिया फाउण्डेशनको परियोजना पनि यसै बर्ष आरम्भ गरिदैछ ।


अहिले सम्म रोकिएको दोश्रो गौतम बुद्ध अन्र्तराष्ट्रिय शान्ती पुरस्कार वितरण एवम तेश्रो विश्व बौद्ध शिखर सम्मेलनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने तैयारी पनि रहेको छ । यी सबै क्रियाकलापले यस बर्ष लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि मात्र नभई उनिहरुको बसाई पनि लम्बिने कोषको अपेक्षा रहेको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार