
भैरहवा । सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका सरकारी कार्यालयहरुसगँ समन्वयकारी भुमिका निर्वाह गर्न थालेको छ । नगरमा रहेका सरकारी कार्यालयहरुमा नगरवासीहरुलाई सेवा प्राप्तीमा सहजता गराउने उद्देश्यले पालिकाले नगरमा रहेका विभिन्न सरकारी कार्यालयहरुसगँ समन्वयकारी भुमिका निर्वाह गर्न थालेको हो ।
नगरका अधिकांश सरकारी कार्यालयहरुमा नियमअनुसार सेवा प्राप्तीका लागि पनि विभिन्न समस्या खेप्नु परेको सर्वसाधरणहरुको गुनासो छ । जसको सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी नहुने पनि गर्दछ ।
सोही अनुसार पालिकाले प्रथम चरणमा नगरवासीहरुले बढी सेवा लिने नेपाल विधुत प्राधिकरण, भैरहवा वितरण केन्द्र, मालपोत, नापी र नेपाल टेलिकमको कार्यालय प्रमुखहरुसगँ छलफल गरेको छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा नगर प्रमुख इश्तियाक अहमदन खानको अध्यक्षतामा वडाअध्यक्षहरु सहितको बसेको बैठकले विधुत, मालपोत, नापी र नेपाल टेलिकम कार्यालयसगँ नगरमा देखिएका समस्या समाधान र नगरवासीले पाउने सेवाको विषयमा छलफल गरी देखिएका समस्या समाधन र नगरवासीहरुलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
नगरमा विधुतका पोलहरु अव्यस्थित तारहरु व्यवस्थित गर्न, आवश्यक स्थानमा विधुतिय पोल–तार जडान, ट्रान्सफर्मर जडान, जग्गाको सम्बन्धी कार्य लगायत सेवा प्राप्तीमा सहजता गराउने निर्णय भएको उनले बताए ।
‘हाम्रो नगरमा देखिएका समस्या र नगरवासीहरुले उक्त कार्यालयहरुमा सेवा लिन जादाँ नियमअनुसार सहज रुपमा सेवा पाउन भन्ने उद्देश्यले बैठक बसेका थियौँ’ नगर प्रमुख इश्तियाक अहमद खानले भने, ‘सम्बन्धित वडा कार्यालयको सिफारिस लिएको अवस्थामा उक्त कार्यालयहरुले सेवा प्रदानमा विशेष सम्बोधन गर्नेमा हामी आशावादी छौँ ।’
मालपोत, नापी, विधुत र नेपाली टेलिकम कार्यालयहरुमा नियमअनुसार सेवा प्राप्तीमा कुनै पनि समस्या भएमा नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयहरुमा नगरवासीले सम्पर्क गर्न सकिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।