Logo

सिद्धार्थनगर–९ मा संयुक्त वृक्षारोपण कार्यक्रम

ujyalosandesh online १६ भाद्र २०८०, शनिबार १८:४१ मा प्रकाशित

 

भैरहवा । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही र आस्था महिला उद्यमी संघ रुपन्देहीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । शनिबार सिद्धार्थनगर–९ स्थित प्रभातपथदेखि उदयपुरस्थित कार्यालय भवनसम्म वृक्षारोपण गरएको कार्यक्रम संयोजक विष्णु उपाध्यायले बताए ।

कार्यक्रममा ६० वटा म्याङ्गो स्ट्रीट विरुवा रोपिएको चेम्बर अफ कमर्सका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । सडक किनारमा रोपिएको विरुवाले नगर हराभरा बनाउन सहयोग पुर्याउने ज्ञवालीले विश्वास व्यक्त गरे । उनले भने, ‘वार्षिक कार्ययोजना अनुसार तीनवटा संस्थाद्वारा संयुक्त रुपमा वृक्षारोपण गरिएको हो । यसले सिद्धार्थनगरलाई हराभरा बनाउने अभियानमासमेत सहयोग पुर्याउनेमा विश्वस्त छौं । ’ रोपिएका विरुवाहरुको संरक्षणमा स्थानीयबासीलाई सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने अभियानमा नगरपालिका रहेको बताए । उनले रुख विरुवाले नै अक्सिजन दिने भएकाले टोलटोल र गल्लीगल्लीमा वृक्षारोपण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले भने, सबैले आ–आफ्नो घरका गमलामा फूल रोपौं । सडकमा रोपिएका फूलले शहरको सौन्दयर्ता बढाउने भएकाले सडकका फूल नटिपौं ।

त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले अलगअलग रुपमा कार्यक्रम गर्नुभन्दा मिलेर गर्दा अझ प्रभावकारी हुने भएकाले संयुक्त रुपमा कार्यक्रम गरिएको बताए ।

चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक विष्णु उपाध्यायको स्वागत तथा आस्था महिला उद्यमी संघ रुपन्देहीकी अध्यक्ष विन्दु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार