
भैरहवा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगीहरुलाई निराश नहुन आग्रह गरेका छन् । अहिलेको बिषम परिस्थितिमा उद्योगीहरुलाई अगाडी बढ्न अनुरोध गर्दै उनले मन्त्रालय उद्योगी ब्यवसायीको सुरक्षा एवम उनिहरुको अभिभावकत्व ग्रहण गर्ने रिजालले जिकिर गरे ।
सिद्धार्थ उद्योग बाणिज्य संघले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रिजालले “अहिले परिस्थितिसंग भाग्ने नभई जुध्ने अवश्था आएको छ, भागेर समस्या समाधान हुदैन ।” उनले भने “हामी अभिभावकत्व ग्रहण गर्छौ, हामी त्यसको जिम्मेवार निकाय पनि हो र त्यो ठान्ने तपाईहरुको दायित्व पनि हो ।”
उनले आर्थिक मन्दी विश्वब्यापी समस्या रहेकोले बिस्तारै यसको समाधान हुदै जाने बताए । उनले अहिलेको अवश्थामा सामुहिक रुपमा यसको सामना गर्नु पर्ने औल्याए । “बिषयगत उद्योगीहरु सुटुक्क मन्त्रालय आउनुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ र जानुहुन्छ ।” रिजालले भने “यसरी हुदैन सबै सामुहिक रुपमा आउनु प¥यो, सामुहिक रुपमा समस्याको समाधान गर्नुप¥यो ।”
उनले अहिले अदालत र अख्तियारले आफ्नो सिमाक्षेत्र मिचेर निर्णयहरु सुनाउने गरेको आरोप लगाए । नेपालमा रहेका र खेर गईरहेका श्रोतहरुबाट नै रकम कमाउन सक्ने भए पनि अदालत एवम अख्तियार लगायतको समस्याको कारणबाट त्यो हुन नसकेको उनको जिकिर थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघियता पछि उद्योगीहरुलाई करको बोझ बढाउदै लगेको बताए । उनले रुपन्देहीका कतिपय उद्योगहरु बन्द भै सकेको र कतिपय क्षमता अनुसार चल्नै नसकेको कारण यस क्षेत्रमा रोजगारीको समेत समस्या देखिन थालेको बताए ।
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवाल, संघका वरिष्ठ उपाध्यक्ष नेत्र कुमार आचार्य, मंगल भण्डारी, लुम्बिनी ईट्टा ब्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता लगायतले मन्त्रीलाई गुनासो सुनाउदै यस क्षेत्रका उद्योगी ब्यवसायीहरुले उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको, भन्सारको समस्या, बैंक ब्याज, दोहोरो कर लगायतको समस्या राखेका थिए ।