Logo

बालदिवसको अवसरमा छात्रवृत्तिको लागि अक्षयकोषको स्थापना

ujyalosandesh online २९ भाद्र २०८०, शुक्रबार २०:१२ मा प्रकाशित

भैरहवा । ५९ औं राष्ट्रिय बालदिवसको अवसर पारी भैरहवाको २ वटा बिद्यालयका छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना गरिएको छ । नेपाल बाल कल्याण संस्थाले भैरहवाको सिद्धार्थ आधारभूत बिद्यालय र भानु माध्यमिक बिद्यालयलाइ एक/एक लाखको चेक हस्तान्तरण गरेको छ ।

शुक्रबार भैरहवा नेपाल बाल कल्याण संस्थाको आयोजनामा भएको अन्तरक्रिया, सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रममा संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता शिव गौडेलले दुबै बिद्यालयका ब्यवस्थापन समिति अध्यक्षलाई चेक हस्तान्तरण गरेका हुन । स्थापना गरिएको कोषबाट प्राप्त भएको ब्याजले भानु माध्यमिक बिद्यालयले कानून तर्फ अध्ययनरत बिद्यार्थी एवम सिद्धार्थ आधारभूत बिद्यालयले जेहेन्दार एवम गरिब बिद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने गौडेलले बताए ।

“बालबालिकामा लगानी, सुनिश्ति भविष्यको थालनी” भन्ने मूल नारा सहित नेपाल बाल कल्याण संस्थाको आयोजनामा भैरहवामा ५९ औं राष्ट्रिय बालदिवस मनाईएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले बालबालिकाको विकासमा समाज नै लाग्नु पर्ने बताए । उनले बालबालिकाहरु समाजबाट नै सबै कुरा सिक्ने हुनाले उनिहरुको विकासको लागि कुनै एक पक्ष मात्र नभई सबै समान रुपमा जिम्मेवार हुनुपर्ने धारणा राखे । बालबालिकाहरुलाई नैतिक कुराहरु घर र बिद्यालय स्तरबाटै सिकाउनु पर्ने चपार्ईले बताए । बालवालिकामा रहेको फरक खालको क्षमता तथा व्यवहारलाई अभिभावक तथा बिद्यालयका शिक्षकले बुझ्न जरुरी भएको उनले बताए । “बिद्यालयको कक्षा शिक्षकले सवै वालवालिकाको घरायशी परिस्थिति बुझेर त्यही अनुरुपको व्यवहार उनीहरु माथि अपनाउन जरुरी छ”, उनले भने ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाले बालवालिकाले गल्ती गरे पनि अपराध मान्न नसकिने र अपराध गर्ने मनसाय नहुने बताए । “बालवालिकाले गरेको गल्तीलाई सजाय होइन्, सच्याउन सकिन्छ”, कोइरालाले भने, ‘उनीहरुले गरेको गल्तीलाई फौजदारी सजाय दिएमा उनीहरु भविष्यमा अझ अपराधी बन्ने सम्भावना हुन्छ ।” गल्ती गरेका बालवालिकालाई कारागार र बयस्क कैदीसँग नराखेर बाल सुधार गृहमा राखेर उनीहरुको मुद्दाको सिलसिलामा बालमैत्री व्यवहार अपनाउनु पर्ने उनको भनाइ थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले अहिलेको बिद्यार्थीमा सानै उमेरदेखि नैतिक शिक्षामा जोड दिन जरुरी भएको बताए । कतिपय राम्रा काम गर्न खोज्दा पनि कर्मचारी र अन्य निकायबाट बेलाबेलामा असहयोग हुने गरेको गुनासो उनले गरे ।

बाल कल्याण संस्थाले बाल भैरहवा र आसपास क्षेत्रका २१ जना विद्यार्थीलाई छात्रबृत्ति तथा सहयोग समेत प्रदान गरेको छ । सिद्धार्थनगरस्थित बहिरा बाल बिद्यालयका ५ जना, आशाज्योति सहयोग समिति बिद्यालयका ५ जना, रामनरेश उच्च मावि धकधईका ५ जना, बोधवार माविका २ जना, जनजागृति आधारभूत प्राविका २ जना, भानु माविका १ जना र भैरहवा नमूना उच्च माविका एक जना बिद्यार्थीलाई छात्रबृत्ति तथा सहयोग उपलब्ध गराएको हो ।कक्षा १२ को परीक्षामा ३ दशमलव ७५ जिपीए नम्बर ल्याइ सिद्धार्थनगर क्षेत्रका सामुदायिक बिद्यालय मध्येबाट उच्च अंक प्राप्त गरेको भन्दै भानु माविकी छात्रा सुरक्षा सापकोटालाई सम्मान गरिएको हो ।

कार्यक्रममा अग्रज पत्रकार तथा संस्थाका पूर्व अध्यक्ष दिलीप भट्टराई, लुम्बिनी प्रेस क्लवकी अध्यक्ष सम्झना शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दिलिप कुमार मल्लिकले गरेका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार