Logo

राजनितिक बाटो पहिल्याउन आवश्यक: महसचिव भुसाल

ujyalosandesh online २ आश्विन २०८०, मंगलवार १८:१३ मा प्रकाशित

भैरहवा । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको राजनीतिक बाटो पहिल्याउन नसक्दा मुलुकबाट युवा जनशक्ति रोजगारीको नाममा विदेशल पलायन भइरहेको बताएका छन ।

उनले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्वकर्ताले राष्ट्रिय पूँजीको विकास गर्न नसक्दा त्यसबाट समाजमा निराशा र अराजकताले प्रंसय पाएको बताए । उनले अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक रहेको बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा कार्यकर्तासँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आगामि १० बर्षमा मुलुक बनाउने ऐजेन्डा सहित नेकपा एकिकृत समाजवादी छिट्टै देशव्यापी अभियानमा सामेल हुने बताए । उनले संविधानमा समाजवाद उन्मुख भनेर लेखिएपनि त्यसको स्पष्ट बाटो कुनै पनि दलसँग नभएको बताउँदै अब त्यसको अगुवाई एकिकृत समाजवादीले गर्ने बताए ।

आगामि १० वर्षमा राष्ट्रिय पूँजीको विकास गर्दै देशमा रोजगारीको वातावरण सृजना गर्ने बताएका हुन् । उनले नेपालबाट युवाहरु विदेश पलायन हुनेक्रम बढेको बताउँदै त्यो जनशक्तिलाई नेपालमै रोजगारी दिएर राष्ट्रियपूँजीको विकास गर्नुपर्ने बताए । ‘हरेक वर्ष देश छोड्नेहरुको संख्या बढेको छ, ३ लाखबाट ८ लाख पुगिसक्यो, यो अवस्था निकै भयानक हो’ महासचिव भुसालले भने –‘अब हामीले हाम्रा छोराछोरीलाई विदेश पलायन हुनबाट रोक्ने गरी राजनीतिक रुपमा ऐजेन्डा र कार्यक्रम बनाउँदैछौं ।’

उनले आगामि माघमा हुने नेकपा एकिकृत समाजवादीको महाधिवेशनसम्म आफुहरुले १० बर्षमा राष्ट्रिय पूँजीको विकास गर्ने स्पष्ट योजना र खाका तयार पारेर राजनीतिक बाटो स्पष्ट पार्ने बताए । उनले प्रतिनिधिसभाको विघटन विरुद्धको लडाईँमा सफलता हासिल गरेको बताउँदै अब नेपाली मोडेलको समाजवादको कार्यक्रम समेत आफुहरुले नै दिने बताए । ‘अहिले हाम्रा सामु, अबको बाटो के भन्ने प्रश्न छ’ भुसालले भने –‘यसका लागि एक डेढ महिनामा हामीले स्पष्ट राजनीतिक कार्यदिशा ल्याउछौंँ ।’

उनले एमालेको नवौं महाधिवेशनमा राष्ट्रिय पूँजीको विकास गरेर अगाडि बढ्नुपर्ने नीति पारित भएपनि केपि ओलीका कारण मुलुक त्यसतर्फ नभई सत्ता र शक्तिको दुरुपयोगमा केन्द्रीत हुँदा नेपाली समाजमा निराशा देखा परेको टिप्पणी गरे ।

महासचिव भुसालले राष्ट्रिय पूँजीको विकासलाई रोजगारीसँग र सरकारको नीतिसँग जोडेर अगाडि बढनुपर्ने बताए । उनले ३ सय वा एक हजार जनालाई रोजगारी दिने उद्योगलाई कर वा अन्य सहुलियत दिएर देशभित्र रोजगारीको वातावरण बनाउनुपर्ने बताए ।

उनले रोजगारीका लागि स्वदेशभित्र र विदेश नीतिमा समेत परिवर्तन गरेर अब मुलुक बनाउने गरी एकिकृत समाजवादीले स्पष्ट योजना बनाउने तयारीमा जुटेको बताए । उनले पहिलो १० बर्षमा रोजगारी सृजना गर्ने, त्यसपछिको १० बर्ष रोजगारी सृजनापछि उत्पन्न असमानताको दुरी घटाउने र अर्को १० बर्षमा बल्ल नेपाली मोडेलको समाजवादमा जान सकिने बताए ।

महासचिव भुसालले १० बर्षमा बेरोजगारी समस्या उन्मूलन गर्नैपर्ने बताए । उनले नेकपा एकिकृत समजावादीले राष्ट्रिय पूँजीको विकास गर्ने नीति सहितको ऐजेन्डा तय गरेर देशव्यापी अभियानमा सामेल हुन लागेको समेत बताए ।

संविधान निर्माणपछि बनेको दुई तिहाईको सरकारले रोजगारी सृजना गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा संविधान र व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर एकिकृत समाजवादी पार्टीका रुपमा आफुहरु स्थापित भएको उनले बताए । उनले पार्टी सचिवालय बैठकले ऐजेन्डामा केन्द्रीत भएर छलफल गरेर मुद्धा तय गर्ने बताए ।

भुसालले केहि दिनअघि केन्द्रीय कमिटिको बैठकले जिम्मेवारी बाँडफाँड गरेको बताउँदै त्यसमा आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने समेत बताए । उनले एकिकृत समाजवादीलाई जनतासँग जोड्ने गरी पार्टीले देशव्यापी पुर्नजागरण अभियान शुरु गर्न लागेको बताउँदै जिल्ला–जिल्लाबाट समाजवादी कार्यक्रममा जोडिन आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, बाबुलाल यादव, भगवती घिमिरे,जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिनबहादुर गुरुङ, पूर्व सांसद रामचन्द्र भट्टराई, साहित्यकार बुँद राना, उपसचिव टंक पोखरेल लगायतले बोल्दै समाजवादी पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार