बीरगन्ज, २१ असार । पर्सामा लगातार ३ दिनसम्म परेको अविरल वर्षाका कारण डुबान र बाढीबाट भएको क्षतिको जायजा लिन सांसद् प्रदीप यादवले निरीक्षण गरेका छन् ।
जिल्लाको सदरमुकाम बीरगन्ज महानगरपालिकाको बेलवा, मिलनचोक, लालपर्सा, प्रस्तोपुर, इस्लाम्पुर लगायतका क्षेत्रमा बाढी र डुबानबाट भएको क्षतिको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवसहितको टोलीले निरीक्षण गरेको हो ।
सांसद् यादवसँगै जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मोद अन्सरी, प्रदेशसभा सदस्य जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतको टोलीले बाढी र डुबान क्षेत्रको निरक्षण गर्दै क्षतिको विवरण संकलन गरेको छ ।
निरक्षणको क्रममा बाढीबाट जनधनको क्षतिसँगै कृषकहरुले हजारौं विगाह जग्गामा लगाएको धानबालि नष्ट भएको पाइएको सांसद् यादवले बताए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवका अनुसार बाढीको पानी घर–घरमा प्रवेश गर्दा सयौँ स्थानीयसमेत विस्थापित भएका छन् ।
ठाउँ–ठाउँमा पानीको बहाव रोक्न बनाइएका कच्ची बाँधहरुमा समेत बाढीले क्षति पुर्याउँदा डुबान भएको ठहर गर्दै सांसद् यादवले बाँधको पुर्ननिर्माण र दीर्घकालीन समाधानका लागि पहल गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह र प्रशासनले गम्भिर रुपमा लिनुपर्ने आवश्यक्ता औल्याए ।
जिल्लामा बाढीको जोखिम र जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न चुकेको बताउँदै सांसद् यादवले आगामी दिनमा विपद्को पूर्वतयारीलाई प्रथम प्राथमिकतामा राख्न सम्बन्धीत सरोकारवालालाई अपिल गरे । बाढी तथा डुबानबाट प्रभावित भएका परिवारहरुलाई विशेष प्याकेजका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै यादवले तत्कालका लागि जिल्ला विपद् कोष र वीरगञ्ज महानगरपालिका कार्यालयबाट राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
News