दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भनी आफन्तले सनाखत गरिसकेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाँत हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सुजिताले आत्तिँदै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।
उनको घरदेखि झन्डै एक किलोमिटर नजिकै मार्तल खोला चोकभन्दा उत्तरतिरको जंगलमा शव भेटिएको हो । ‘जंगल गएका स्थानीयले देखेपछि खबर गरे । साँझ त्यस्तै साढे पाँच बजेतिर खबर आएको थियो होला,’ वडाध्यक्ष उप्रेतीले भने ।
चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् ।
झोलामा ३२० रुपैयाँ पनि भेटिएको छ,’ एसपी अधिकारीले भने, ‘मृतककी दिदीले त्यो झोला आफूले पसलबाट सामान लिएर आएको भन्नुभएको छ । झोला काटिएको अवस्थामा छ । छेउमै बोतलमा सेतो पदार्थ समेत भेटिएकोमा मृतकका बुबालाई सनाखत गराउँदा पतेरालाई हाल्ने विषादी भएको हुन सक्ने बताउनुभयो ।’
घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै एसपी अधिकारीले शव पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए । ‘चाँडै नै सत्यतथ्य पत्ता लगाउनेछौं,’ उनले भने ।
News