Logo

सडकको क्षमता भन्दा बढी भार बोकेको भन्दै व्यवसायीले रोके भारतीय ट्रक

ujyalosandesh online २९ श्रावण २०७८, शुक्रबार ०९:२० मा प्रकाशित

उज्यालो सन्देश
भैरहवा । सडकको भार क्षमता भन्दा तेब्बरसम्म ओभरलोड बोकेर ढुवानीका सवारीसाधनहरू ओहोरदोहोर गर्दा बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गतको सडक जोखिममा छ । भारतबाट नेपाल भित्रिने मालबाहक सवारी क्षमता भन्दा बढी ओभरलोड बोक्ने गरेका छन् । नियमक निकायले ओभरलोड बोक्ने गाडीलाई नियन्त्रण नगर्दा व्यापारिक मार्ग धुजाधुजा भएको छ । खासगरी बेलहियादेखि अञ्चलपुरसम्मको करिब ६ किलोमिटरको वायाँतर्फ क्षेत्रको ठाउँठाउँमा सडक धुजाधुजा भएको हो ।
ओभरलोडका कारण बेलहिया–बुटवल व्यापारिक मार्ग भत्किन गई पटकपटक मर्मत हुँदै आएको छ । यस्तै निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भैरहवा–तौलिहवा सडक पनि ओभरलोडकै कारण भत्किन थालेको छ । ओभरलोड कसले नियन्त्रण गर्ने भन्ने नै अन्यौलमा रहेको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड ट्रकका कारण आफुहरु बेरोजगार हुने मात्र नभई नेपालका पुल र सडकमा समेत असर पुगेको बताउछन् ।
मालवाहक सवारीसाधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था रहेको स्थानीय अगुवा प्रख्यात बन्जाडेले बताए । निर्देशिकाको बुंदा नम्बर १० मा पनि तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारीधनीले नै त्यस्तो समानको भण्डारणको व्यवस्था मिलाउनुपर्ने भनी उल्लेख गरेको छ ।
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउँदैनन् । नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाइँदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक यस्ता सवारीसाधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टनसम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपालभरी प्रवेशको स्वीकृति दिएको हुन्छ ।
यसअघि औद्योगिक कच्चापदार्थ बाहेकका समान ओभरलोड भएमा पल्टी गराउने र औद्योगिक कच्चापदार्थ बाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही स्वरुप जरिवाना लिदै आएको थियो । तर, जतिसुकै ओभरलोड भए पनि भारतीय गाडीको ओभलोडलाई छुट दिइएको छ ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका निमित्त प्रमुख दामोदर मल्लले भारवाहन मिलान भन्सारले नै गर्नुपर्ने दावी गर्छन । २०७१ सालमा भौतिक पूर्वाधारमा भएको निर्णय अनुसार भारमिलान गर्न सक्नेलाई भन्सारले नै मिलान गरेर पठाउनुपर्ने उनको भनाइ छ । ट्राफिक प्रहरीले गर्न सक्ने भनेको जरिवाना मात्र रहेको र प्रहरीले त्यो गरि रहेको उनले बताए ।
यता भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तिर्थराज पासवानले आर्थिक ऐन र भन्सार ऐनले ओभरलोड भन्सारले हेर्नुपर्ने भनेर कतै उल्लेख नगरेको कारण यो प्रहरीले नै हेर्नुपर्ने तर्क गर्छन । भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढी मात्रामा ओभरलोड हुने गर्छन् । यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार