गुल्मी । गुल्मी आफैमा प्राकृतिक सुन्दरताले भरिएको जिल्ला । त्यस माथि यहाँका पर्यटकीय अथाह सम्भावना भएका मनमोहक छटाहरूले यो जिल्ला श्रृङ्गारिएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अन्तर्गत पर्ने गुल्मी यहाँ आउन र यहाँका पर्यटकीय क्षेत्रहरूको दृश्यावलोकनका लागि सबै लालायित हुने गर्छन् ।
स्थानीय तहपछि धमाधम बनिरहेका नयाँ–नयाँ पर्यटकीय संरचनाहरूले थप रौनकता भरिरहेको छ । तथापि धेरै पर्यटकीय संरचना पूरा गर्न र भएका संरचनाहरूलाई प्रयोगमा ल्याउन चुनौती छ । आन्तरिक र बाह्य पर्यटकहरूलाई यहाँका पर्यटकीय संरचनाहरूमा चहलपहल बढाउन सके समग्र जिल्लाकै व्यापार–व्यवसाय चलायमान बन्न सक्छ । पर्यटनसँग जोडिने व्यवसाय मध्ये एक होटल व्यवसाय हो । यहाँ आउने पर्यटकहरूलाई यहाँका होटलहरूले दिने सेवा र सत्कारले पनि पर्यटकहरूलाई जिल्लामा भित्र्याउन र फ्लो बनाइ राख्न सहयोग पुग्छ ।
ठुला लगानीका होटलहरू कमै भए पनि जिल्लाभर करिब १ हजार बढि होटल व्यवसायीहरूले सेवा दिईरहेको होटल व्यवसायीहरूको साझा संस्था होटल व्यवसायी मञ्च गुल्मीको रेकर्डमा उल्लेख छ । आफ्ना होटल व्यवसायीहरूको समस्याहरू बुझ्न र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हालै होटल व्यवसायी मञ्च जिल्लाको एक टोलीले सदरमुकाम बाहिर रहेका होटल व्यवसायीहरूबीच आन्तरिक भेटघाट र पर्यटकीय स्थलहरूको अवलोकन गर्यो ।
होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकीको मुख्य बजार केन्द्र पूर्तिघाट, शान्तिपुर र मजुवाका होटल व्यवसायीहरूसँग आन्तरिक छलफल गरेको अध्यक्ष जंगबहादुर कुँवर बताउनुहुन्छ । अध्यक्ष कुँवरले यस पटक सदरमुकाम बाहिरका मुख्य बजारमा रहेका होटल व्यवसायी र त्यहाँ रहेका पर्यटकीय स्थलहरूको अवलोकन गरिएको उल्लेख गर्नुभयो ।
भेटका क्रममा होटल व्यवसायीहरूले पहिलेको तुलनामा कोभिडपछि होटल व्यवसाय सुस्ताएको, अधिकांश व्यवसायीहरू पलायन भइसकेको र कोही पलायन हुने अवस्थामा बताएका थिए । उनीहरूले स्थानीय तहले वर्षैपिच्छे कर बढाउँदै गएको बताए । यस्तो अवस्थामा होटल व्यवसायीहरूको व्यवसाय चलायमान बनाउने कार्यक्रम सोंच्न आवश्यक रहेको अध्यक्ष कुँवरको भनाइ छ ।
“होटल व्यवसायलाई ह्वात्तै माथि उकास्न पर्यटन प्रवर्द्धनका कार्यक्रम नै मुख्य रहने गर्छन्” –कुँवर भन्नुहुन्छ । यसका लागि स्थानीय तहले निमार्ण सुरू गरेका र निर्माणाधीन पर्यटकीय संरचनाहरूको समयमै निर्माण कार्य पूरा गर्न आवश्यक छ ।पर्यटकीय स्थलसम्म पुग्ने सडकलाई प्रमुख प्राथमिकताका साथ निर्माण कार्य पूरा गर्नुपर्नेमा होटल व्यवसायी मञ्चको जोड छ ।
होटल व्यवसायीद्वारा पर्यटकीय क्षेत्रहरूको अवलोकन
त्यसक्रममा होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवर, कोषाध्यक्ष टिकाराम भण्डारी, सचिव लालमणि आचार्य, सदस्यहरू हुमाकान्त खराल, चिन्तामणि ढकाल सहितको टिमले होटलहरूको आन्तरिक अनुगमनसँगै पर्यटकीय स्थलको पनि अवलोकन गरेको छ ।
“जिल्लामा बाहिरबाट आउने पर्यटकहरूलाईयहाँका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूमा पुग्न हामीले प्रेरित गरिरहेका हुन्छौं । हामीले जिल्लामा बसेर बताईदिने पर्यटकीय स्थलहरू कस्ता छन् ? त्यहाँ पुग्न कति सजिलो छ ? पर्यकीय संचनाहरू के कस्ता निमार्ण भएका छन् ? पर्यटकहरूका लागि खानबस्नका लागि कस्तो सुविधा छ भनेर प्रत्यक्ष हेर्नका लागि पनि हामी आफैं पुग्ने गरेका छौं ।” अध्यक्ष कुँवर भन्नुहुन्छ,–“अधिकांश स्थानहरूमा सडक निर्माण समयमै सम्पन्न गरि पर्यटकीय स्थलहरूलाई जोड्ने मार्ग छिटो सम्पन्न गर्नुपर्ने देखियो । यसमा सम्बन्धित निकायहरूले तदारुकता देखाउनुपर्छ ।”
सोही शिलशिलामा गुल्मी जिल्लाकै ऐतिहासिक रूपमा र अग्लो स्थानमा रहेको टिमुरे तालमा अवलोकन गर्न आफूहरू पुगेको बताउनुभयो । यस्ता स्थानहरूलाई स्थानीय पालिकाहरूले पहिलो प्राथमिकतामा राखेर विकास गरे मात्रै पर्यटकहरू बढ्न सक्छन् ।
समुन्द्री सतहदेखि २ हजार मिटरभन्दा अग्लो उचाईमा टिमुरे ताल रहेको छ । यो जिल्लाकै तेस्रो अग्लो भाग समेत हो । यो ताल ४ रोपनी क्षेत्रफल जग्गामा पैmलिएको छ । जुन तालमा कुनै पानीको मुहान र अन्य स्रोत बिना नै हिउँद बर्षा जुनसुकै समयमा पनि तालमा पानी प्रशस्तै हुने गरेको छ । पानीको मुहान विनै तालमा सधंै पानी हुनाले पनि मानिसहरुको यसको अध्ययन अवलोकन गर्न आउने गरेका स्थानीयको भनाइ छ ।
यसरी सुरू भयो टिमुरे तालको यात्रा
सदरमुकाम देखि बिहानै हिडेको होटल व्यवसायी मञ्चको पहिलो भेटघाट र अन्तरक्रियाको गन्तव्य पूर्तिघाट बजार थियोे । त्यसक्रममा कालीगण्डकी गाउँपालिकाको जयखानिमा झरेको झरनाले धेरैलाई लोभ्याएको रहेछ ।
निर्माणाधिन कालीगण्डकीमा करिडोरमा पर्ने यस झरनामा पुग्ने जो कोहि पनि यसको सुन्दरतासँग रमाएर फर्किने गर्छन् । यात्राका सबै को ध्यान त्यस झरनाले तान्यो । त्यसपछि कालीगण्डकीको केन्द्र पूर्तिघाटमा आन्तरिक छलफल र अनुमनको कार्य सकियो । कालीगण्डकीको यात्रापछि शान्तिपुर बजार रातिको सेल्टर बन्यो । अर्को दिन बिहानको पाँचै बजे भाले बाँस्यो । बर्खायाम र रातै भरीको चट्याङ र गड्याङ्गगुडुङ्ग सहितको घनघनाहटले सबैलाई बिहानको प्रतीक्षा थियो ।
होटल व्यवसायी आफै आन्तरिक भ्रमणको लागि निस्किएको थियो । बिहानसम्म पनि पानिले बिसाउने छाट देखाएन् । तर पनि टिमुरेको निरतिशय चाहनाले त्यहाँको अवलोकन सबैको सोंच बन्यो । टिमुरे ताल चन्द्रकोट गाउँपालिका ४ रेमिमा पर्छ । अन्ततः विहान साढे ६ बजे जिल्लाबाट गएको टोलिको यात्रा टिमुरे ताल अवलोकनका लागि सोझियो । रातभरिको आकाशे पानीले टिमुरे ताललाई जोड्ने सडक खोलेर ठाउँठाउँमा जोखिम बनाएको रहेछ । तर पनि यात्राले चारपाँग्रेमा गति लियो । रेमिको गाउँ छिचोल्दै शान्तिपुर देखि दस किलोमिटर टिमुरेसम्मको यात्रा तय गर्यो ।
चालकको अदम्य साहसको बीच भएर गाडीले उकालो चढ्दै गयो । हुर्कदै गरेका मकै र बस्तीको बीचबाट सुन्दर हरियाली दृश्यावलोकनसँगै विस्तारै गाडीले टिमुरेको ताल नजिक पुर्यायो ।अविरल वर्षाका बीचमा बर्खाको बाटो पार गरि टिमुरे टापुमा पुगियो । टापुमा सडक टुंगिएकै स्थानमा चारपाङ्ग्रेलाई रोकेर पैदल यात्रा सुरू भयो । प्रवेशद्वारमा लेखिएको थियोे, झपर्यटकीय स्थल टिमुरे तालमा हार्दिक स्वागत छ ।ञ
शान्तिपुरबाटै परेको पानी त्यहाँ पुग्दा सम्म रोकिएको थिएन् । गाडिबाट ओर्लिएपछि आकाशबाट परेको पानीले शिर माथि बर्सिएर रूद्राभिषेक गर्यो । त्यसपछि मनमोहक तालको दृश्य सबैको आँखाले कैद गर्यो । मानौं लामो समयको पर्खाइपछि कुनै प्रेमिले प्रेमिकालाई भेटेजस्तो । तालसँग रमाउन पाउँदा सबैको मन प्रफुलित थियोे । सबैले तालसँग सेल्फि खिचेर ताललाई अंगालो मारे । ताललाई क्यामेराको लेन्स र आँखाको नानि भित्र कैद गरे ।
पानी बेस्सरी दर्किएकाले नजिकै रहेको टिनले छाएको पौवाभित्र प्रवेशपछि आँखै अगाडि रहेको तालको बखान सुरू भयो । यात्राका दुखद क्षण, क्षणभरमै बिलाए । अग्लो स्थानमा बसेको ताल । शान्त बसेको ताल । हरियाली वातावरण बीचमा अटल बसेको ताल । सबैलाई यसको मनमोहक दृश्यले तान्यो । थुप्रैका मोबाइलमा तालसँगैका तस्बिरहरू संग्रह भए । होटल व्यवासायी मञ्चका अध्यक्ष समेत जंगबहादुर कुँवरले भन्नुभयो, “पहिले यता धेरै टिमुर पाइन्थ्यो । त्यसैमा आधारित भएर टिमुरे ताल रहन गयो । तर यहाँ त अहिले यसको वरपर टिमुर नै देखिदैन् ।”
“तालमा घुम्न आएपछि यस स्थानको बारेमा धेरैलाई यसको ऐतिहासिकता जान्न मन लागेको हुन्छ । यस्तो अवस्थामा यहाँको जानकारी दिने विषय समावेश गरिएको होडिङ्ग बोर्ड, गाईडको आवश्यकता पर्छ । यसको व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।” अध्यक्ष कुँवरले भन्नुभयो । व्यवसायी मञ्चका कोषाध्यक्ष टिकाराम भण्डारीले पहिलो भन्दा धेरै व्यवस्थित भए पनि अझै थप विकासका कार्यहरू गर्न आवश्यक रहेको बताउनुहुन्छ । पर्यटकहरूको चहलपहल वृद्धि हुने खालका गतिविधिहरू सञ्चालन गर्न माग समेत गर्नुभयो ।
सचिव लालमणि आचार्यले टिमुरे तालको महत्व उजागरका लागि यसको वरिपरि टिमुर लगाएर हराबरा बनाउन आवश्यक रहेको बताउनुभयो । प्रकृतिले दिएको सुन्दर स्थानका रूपमा रहेको यस तालको प्रचारप्रसारमा लाग्नुपर्ने मञ्चका सदस्य हुमाकान्त खरालले बताउनुभयो । तालको प्रचारप्रसार गरि पर्यटकहरू भित्र्याउन सके स्थानीय स्तरमै रोजगारीको सिर्जना हुने र जिल्लाकै पर्यटन व्यवसाय फस्टाउने बताउनुभयो ।
अर्का सदस्य तथा होटल व्यवसायी चिन्तामणि ढकालले टिमुरे ताल एक पटक पुग्नै पर्ने ठाउँ रहेको बताउनुभयो । “नितान्त टिमुरेताल पुग्नै पर्ने ठाउँ रहेछ । मनोरम दृश्य र पर्यटकीय हिसाबले असाध्यै राम्रो ठाउँ रहेछ । यस ठाउँमा पर्यटनसँग जोडिएका पूर्वाधार निर्माणमा ढिलाइ गर्न हुँदैन् ।” यहाँका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा होटल व्यवसायी मञ्चले समय समयमा विभित्र कार्यहरू गर्दै आइरहेको छ । होटल व्यवसायीहरूको क्षमता विकासका लागि पनि तालिमको आयोजना गर्दै आइरहेको छ ।