बुद्धको जन्मभूमि लुम्बिनी विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र हो । तर, यहाँको विकास, स्थानीयको सहभागिता र पर्यटन प्रवद्र्धनमा अझै धेरै काम गर्न बाँकी छ । विगत साढे तीन वर्षदेखि उप–प्रमुख र हालैका महिनाहरूमा नगर प्रमुखको निधनपश्चात् कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएकी कल्पना हरिजनसँग लुम्बिनीको विकास योजना, चुनौती र भावी रणनीतिबारे विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :
विगत साढे तीन वर्षदेखि उप–प्रमुख र हाल कार्यवाहक नगर प्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ । यो कार्यकाललाई कसरी हेर्नुभएको छ ?
यो साढे तीन वर्षको अवधि मेरा लागि निकै अनुभवयोग्य रह्यो । जनताको आवश्यकता महसुस गरेर काम गर्नु चुनौतीपूर्ण तर रोचक छ । दुर्भाग्यवश, गत भदौ १४ गते नगर प्रमुखज्यूको स्वर्गवास भएपछि मैले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएकी छु । सिङ्गो नगरपालिकाको नेतृत्व गर्नु आफैँमा ठूलो चुनौती हो, तर म नगरवासीको सेवामा पूर्ण रूपमा प्रतिबद्ध छु ।
लुम्बिनी विश्वकै ध्यान केन्द्रित हुने ठाउँ हो । यहाँको धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले के कस्ता नयाँ योजनाहरू अघि सारेको छ ?
हामीले लुम्बिनीलाई केवल मूर्ति र मन्दिर हेर्ने ठाउँ मात्र नभई ’आध्यात्मिक गन्तव्य’ बनाउन चाहेका छौँ । यसका लागि मुख्यतया दुईवटा योजना छन् । पहिलो, काठमाडौंको पशुपति र पोखरामा हुने आरती जस्तै लुम्बिनीमा पनि ’दैनिक दीप प्रज्वलन’ र शान्ति सन्देश कार्यक्रम सुरु गर्ने तयारी छ । यसका लागि बजेट विनियोजन भई पहिलो चरणको छलफल सकिएको छ ।
दोस्रो, विदेशी पर्यटकहरू यहाँ शान्ति र ध्यानका लागि आउँछन् । त्यसैले लुम्बिनी विकास कोष भन्दा बाहिर पनि एउटा ठूलो ’ध्यान केन्द्र’ र आध्यात्मिक स्थल निर्माण गर्ने हाम्रो योजना छ । साथै, पर्यटकको बसाई लम्ब्याउन ’होमस्टे’ र बुद्धको जीवनीसँग सम्बन्धित पार्कहरू निर्माणमा पनि हामीले जोड दिएका छौँ ।
पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्न सकेन भन्ने गुनासो सुनिन्छ । यसमा स्थानीयलाई कसरी जोड्दै हुनुहुन्छ ?
यो एकदमै महत्त्वपूर्ण विषय हो । हामी स्थानीय उद्यमशीलता र सशक्तीकरणमा केन्द्रित छौँ । यहाँ उपलब्ध प्राकृतिक स्रोतहरू जस्तै– घाँस, पात, माटो र पानीको उपयोग गरी उद्यमशीलता विकास गर्ने योजना छ । विशेष गरी युवा र महिलाहरूलाई उद्यममा जोडेर उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणमा नगरपालिकाले सहयोग गर्नेछ । यसले स्थानीयको आयस्तर उकास्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।
न्यायिक समितिको संयोजकको रूपमा काम गर्दा कस्ता खालका विवादहरू धेरै आउने गरेका छन् ?
न्यायिक समितिमा विशेष गरी जग्गा विवाद, साँध–सिमाना मिचिएको र श्रीमान–श्रीमती बीचका झगडाहरू धेरै आउँछन् । हामी सकेसम्म मेलमिलापकर्ताहरूको सहयोगमा विवादलाई गाउँमै मिलाउने प्रयास गर्छौँ । मिल्नै नसक्ने जटिल मुद्दाहरूलाई मात्र प्रक्रिया पु¥याएर अदालत पठाउने गरेका छौँ ।
विकास निर्माणका काममा ’टेन्डर’ कि ’उपभोक्ता समिति’ भन्ने विषयमा निकै विवाद देखिन्छ । यसमा तपाईंको धारणा के छ ?
हेर्नुस्, संघीय कानुनले १ करोड रुपैयाँसम्मको काम उपभोक्ता समिति मार्फत गर्न सकिने व्यवस्था गरेको छ । तर केही पक्ष र बाहिरका व्यक्तिहरूले २० लाख माथिको काम टेन्डरबाटै हुनुपर्छ भनेर दबाब दिइराख्नुभएको छ ।
मेरो स्पष्ट अडान के हो भने, उपभोक्ता समिति मार्फत काम गर्दा गाउँका मानिसले रोजगारी पाउँछन्, पैसा गाउँमै रहन्छ र काममा अपनत्व हुन्छ । ठेकेदारले बनाउने बाटोमा स्थानीयको जति माया र निगरानी हुँदैन । त्यसैले केही युट्युबर वा पत्रकार भनाउँदाहरूको विरोधका बाबजुद पनि म स्थानीयको हितका लागि उपभोक्ता समितिकै पक्षमा छु ।
नगरपालिकाको प्रशासनिक सञ्चालन र कर्मचारी व्यवस्थापनमा कस्ता चुनौतीहरू भोग्नुपरेको छ ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसारको दरबन्दी असाध्यै न्यून छ । यदि राज्यले तोकेको दरबन्दी अनुसार मात्र चल्ने हो भने वडा कार्यालयहरू नै बन्द गर्नुपर्ने अवस्था आउँछ । हामीले नगरसभाबाट निर्णय गरेर सेवा प्रवाहका लागि थप कर्मचारी राख्दा महालेखा परीक्षकको प्रतिवेदनमा ’बेरुजु’ र नीतिगत भ्रष्टाचार देखाइन्छ । यो विरोधाभासपूर्ण अवस्थाले काम गर्न गाह्रो बनाएको छ ।
लुम्बिनी विकास कोषसँग नगरपालिकाको समन्वय कस्तो छ ?
विगतमा समन्वयको ठूलो अभाव थियो । अहिले केही सुधार भएको छ, उहाँहरूले बैठकमा बोलाउन थाल्नुभएको छ । तर हाम्रो माग स्पष्ट छ– नगरपालिकालाई विकास कोषको ’पदेन सदस्य’ बनाइनुपर्छ र स्थानीयलाई बोर्ड सदस्यमा समेटिनुपर्छ । लुम्बिनीको विकासमा स्थानीय सरकारलाई बाहिर राखेर गरिने निर्णयहरू प्रभावकारी हुँदैनन् ।
अन्त्यमा, तपाईंको कार्यकालका मुख्य उपलब्धिहरू केलाई मान्नुहुन्छ ?
चुनौतीका बाबजुद हामीले केही ठोस काम गरेका छौँ । UNDP को सहकार्यमा वडा नम्बर ५ मा ‘हरित पार्क’ सहितको डम्पिङ साइट निर्माण अन्तिम चरणमा छ, जसले फोहोर व्यवस्थापनमा ठूलो मद्दत गर्नेछ । अलपत्र परेका चारवटा स्वास्थ्य चौकीहरू सञ्चालनमा ल्याएका छौँ । शिक्षामा सुधार गर्न ‘नगर स्वयंसेवक शिक्षक’ राखेका छौँ । र, नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य पनि सुरु भइसकेको छ । यी कामहरूले लुम्बिनीको मुहार फेर्नेमा म विश्वस्त छु ।