भैरहवा । स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको छ । सीमाबाट हुन सक्ने अपराधलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाको साढे पाँच लाख आर्थिक सहयोगमा नाकामा उक्त प्रविधि जडान गरेको हो । प्रविधि जडानले सीमाबाट हुने अपराध नियन्त्रण गर्न सकिने विश्वास लिइएको छ । स्थलमार्गको सीमानाकाहरु मध्ये ‘वाकथ्रु मेसिन’ जडान गरिएको बेलहिया नाका सम्भवत पहिलो हो ।
भारतबाट नेपाल प्रवेश गर्दा पुरानो स्वागतद्धारा बायाँ तर्फ उक्त प्रविधि जडान गरिएको छ । सीमाबाट आवातजावत गर्ने सर्वसाधरणले अब सोही ‘वाकथ्रु मेसिन’ हुदै सुरक्षा जाँच गराएर मात्र मुलुकमा प्रवेश पाउँछन् । भारततर्फ सोनौली नाकामा वर्षौ अघि ‘वाकथ्रु मेसिन’ जडान गरेर सोही वाकथ्रु हुदै परिचय पत्र हेरेर र आवश्यक परे यात्राको विवरण टिपोट गरेर मात्र भारतमा प्रवेश दिने गरिएको छ । तर, नेपालमा भित्रिदाँ जनशक्ति अभावमा सुरक्षाकर्मीले सबैको सुरक्षाजाँच गर्न सकेका थिएनन् । प्रविधि जडानले अब भारतबाट नेपाल प्रवेश गर्नेहरुको सहजै सुरक्षा जाँच गर्न सकिनेछ । बुधवार एक कार्यक्रमबीच गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सीमामा जडान गरिएको ‘वाकथ्रु मेसिन’ को शुभारम्भ गरे । उनले मुलुकमा शान्ति सुरक्षा कायम राख्नका लागि प्रविधिको महत्वपूर्ण योगदान हुने भन्दै सीमा नाकाहरु व्यस्थित बनाउन गृह प्रशासनको तर्फबाट आवश्यक सबै किसिमका काम र सहयोग हुने जनाए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अप्रयाप्त जनशक्तिले मुलुकमा प्रवेश गर्ने अधिकांशको सुरक्षाजाँच समेत नहुने भएकोले सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यले नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको बताए । उनले भारतबाट मुलुकमा प्रवेश गर्ने सबैको ‘वाकथ्रु मेसिन’ हुदै सुरक्षाजाँच हुने र नेपालबाट भारत जान लागेको अवस्थामा पनि सुरक्षाकर्मीलाई शंका लागे जाँच गर्ने बताए ।
(सुरक्षाको दृष्टिकोणले जडान गरिएको ‘वाकथ्रु मेसिन’ को सहायताले के-कस्ता वस्तुहरुको पहिचान हुन्छ ? भन्ने विषय हामीले यहाँ उल्लेख गरेका छैनौँ ।)
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरवासीलाई सुरक्षित र भयरित वातावरण आफ्नो व्यवसाय जीवनयापन चलाउनका लागि नगरपालिकाले प्रशासनसगँ मिलेर कार्य गरिरहेको बताए । यस अघि भैरहवा भन्सार कार्यालयले पनि राजस्व छली नियन्त्रणका लागि नाकामा एक्सरे मेसिन जडान गरेको थियो । मेसिन बिग्रिएपछि मर्मत नगरी थन्काइएको छ । जुन प्रविधि सीमाबाट हुने अपराध नियन्त्रणका लागि आवश्यक थियो ।