गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिकका विद्यमान ऐन कानुन सम्बन्धि अभिमुखिकरण दिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिकका विद्यमान ऐन कानुनका विषयमा अभिमुखिकरण गरिएको हो ।
त्यस अवसरमा जिल्ला सरकारी वकिल कार्यालय, गुल्मीका सहायक जिल्ला न्यायधिवक्ता लोकमणि पाण्डे र अधिवक्ता भिमलाल न्यौपानेले जेष्ठ नागरिकका हक अधिकार सम्बन्धि कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिनुभएको थियो । कानुनमा जेष्ठ नागरिकका अधिकारहरु समावेश नभएका विषयहरुको पनि खोजि गरिएको बताउनुभयो ।
कार्यक्रमकी अध्यक्ष तथा उपप्रमुख अमृतादेवि कुँवरले प्रशिक्षण कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गर्नु सभ्य समाजको परिचय भएको बताउनुभयो । आगामी दिनमा जेष्ठ नागरिकहरुलाई सहयोग हुने विषयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीले जेष्ठ नागरिक समाजका अग्रज, सामाजिक अभियान्ता र पथप्रर्दशक भएको बताउनुभयो । जेष्ठ नागरिकहरूलाई कानुनमा व्यवस्था गरिएका विषय र अनुभवहरू आदान–प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिकका विषय र अनुभवहरूलाई जोडेर नीति कार्यक्रममा समावेश गर्ने गरिएको तथा दिगो विकासको लक्ष्यमा पुग्न भूमिका खेलिरहेको बताउनुभयो । जेष्ठ नागरिकहरूको स्वास्थ्य उपचार र विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय प्रतिवद्वताहरूलाई स्थानीयकरण गरेर नगरपालिकाले जेष्ठ नागरिकहरूको हृदयमा अटाउने पर्यन्त गरेको बताउनुभयो ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, यातयातमा सुविधाका लागि जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको बताउनुभयो । जेष्ठ नागरिकहरूलाई अवहेलना गरेको, सेवा, सुविधाबाट कुण्ठित गरेको अवस्था भए नगरपालिकालाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई आर्थिक, सामाजिक र दिगो विकासको लक्ष्यका लागि उपयोग गर्ने उद्देश्यका साथ सामाजिक सुरक्षा र संरक्षणका लागि स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी पार्वता पन्थीका अनुसार हालसम्म रेसुंगा नगरपालिकाबाट २ हजार ५ सय ९२ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । उहाँका अनुसार आर्थिक वर्ष ०७५\०७६ मा ५१७, आ.व.०७६\०७७ मा २३२, आ.व. ०७७\०७८ मा ४४, आ.व. ७८\०७९ मा १ हजार २१, आ.व. ७९\०८० मा ६५५, आ.व.०८०÷०८१ मा ९३, आ.व.०८१\०८२ मा ३० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । सहभागी जेष्ठ नागरिकहरुले कानुनमा व्यवस्था भएअनुसारका सम्पूर्ण सुविधाहरु कार्यान्वयन गर्नुपर्ने, जेष्ठ नागरिकहरुलाई दुव्र्यवहार गर्न नहुने बताउनुभयो ।
नेपालको कानुनले ६० वर्ष उमेर पुरा भएका व्यक्तिलाई जेष्ठ नागरिकका रुपमा संवैधानिक व्यवस्था गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३१८ रहेको छ । जेष्ठ नागरिकका परिवारले पालनपोषण, हेरचाह र स्याहार नगरेको विषयमा स्थानीय तहमा रहेको न्यायिक समितिले न्याय, निरुपण गर्ने व्यवस्था छ । पालन पोषण बाहेकका अन्य कसुरहरु सरकारवादी फौजदारी अदालतमा मुद्दा चलाई प्रतिरक्षा गर्ने व्यवस्था छ ।
तर जेष्ठ नागरिकहरु माथि वर्षेनि शारीरिक, मानसिक र आर्थिक दुव्र्यवहारका घटना बढेका विभिन्न तथ्याङ्गहरुले देखाए जिल्ला सरकारी वकिल कार्यालय, गुल्मीका सहायक जिल्ला न्यायधिवक्ता पाण्डेले बताउनुभयो । उहाँका अनुसार त्यस सम्बन्धि सन् २०२२ मा २७, सन् २०२३ मा ३६ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
हरेक २४ घण्टामा १ मात्र दर्ता भइ कानुनी प्रक्रियामा आउँछन्, भने बाँकी २३ वटा घरभित्रै दबेर–लुकेर रहने गरेको बताउनुभयो । सरकारले जेष्ठ नागरिकहरुलाई साविकको कर्णाली अञ्चल र दलित समुदायका ६० वर्ष नाघेकालाई मासिक २ हजार र अन्य ६८ वर्ष नाघेकालाई मासिक ४ हजार जेष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ ।
अधिवक्ता न्यौपानेका अनुसार जेष्ठ नागरिकहरुलाई सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले कम्तीमा दुई वटा सीट सुरक्षित राख्नुपर्छ । भाडादरमा पनि कम्तिमा पचास प्रतिशत छुट दिनुपर्ने कानुनी व्यवस्था छ ।
स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई सेवा दिनुपर्ने, खानेपानी, बिजुली, टेलिफोन लगायत सार्वजनिक सेवा प्रदान गर्न अन्य संस्थाले सेवा प्रदान गर्दा जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएको सहभागीहरुलाई जानकारी दिनुभयो ।
प्रशिक्षकहरुले कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न, जेष्ठ नागरिक दीर्घकालिन नीति योजना तथा कार्यक्रम बनाउन, संविधानप्रदत्त अधिकार पूर्ण कार्यान्वयन गर्न, बढ्दो वैदेशिक रोजगारी एवम् आन्तरिक बसाइँसराइले गर्दा जेष्ठ नागरिकमा एक्लोपना, शारीरिक मानसिक समस्या समाधानतर्फ बिशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । अभिमुखिकरण कार्यक्रममा रेसुंगा नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।