रुपन्देही । नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ रुपन्देहीको बुटवलमा आयोजना हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्मेलन हुन लागेको हो । ‘संकटबाट सम्भावनातर्फ ः नेपाली मिडियाको दिगो भविष्य’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ रहेको छ।
आयोजकका अनुसार पछिल्ला वर्षहरूमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण नेपाली मिडिया उद्योग गम्भीर संकटबाट गुज्रिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै मिडियाको दिगो भविष्यका लागि आवश्यक रणनीति र नीतिगत सुधारबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यका विषयमा कार्यपत्र प्रस्तुति, प्यानल बहस र अन्तरक्रिया कार्यक्रम हुने महासचिव माधव नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला पनि आयोजना गरिनेछ । उक्त भेलामा दैनिक पत्रिकाले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल रूपान्तरण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुनेछ । सम्मेलनको समापनमा ‘बुटवल घोषणा–२०८३’ जारी गरिनेछ । घोषणामार्फत नेपाली मिडिया उद्योगको दिगोपन, विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिने छ।
त्यसै गरी सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माणमा सम्बन्धित निकायसँग पहल गर्ने अपेक्षा सम्मेलनले राखेको छ । देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागीता रहने सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिष्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले विश्वास व्यक्त गरेका छन् ।