कञ्चन गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ति शिविर सञ्चालन

Ujyalosandeshonline 11690+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुको सहजताका लागि वडा-वडाका टोलमा घुम्ति शिविर सञ्चालन गरी परिचयपत्र नवीकरण सेवा प्रदान गरिरहेको छ । साउन ८ गतेदेखि सुरु भएको यो अभियानअन्तर्गत हालसम्म वडा नं. ३, ४ र २ का विभिन्न टोलमा शिविर आयोजना भइसकेका छन् ।

यस घुम्ति शिविरमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनुका साथै नयाँ लाभग्राहीहरुको दर्ता प्रक्रिया पनि अगाडि बढाइएको छ ।

वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई वडा कार्यालयसम्म पुग्न हुने कठिनाइलाई मध्यनजर गर्दै उनीहरुलाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा कोही पनि लाभग्राही सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले यो अभियान सञ्चालन गरिएको र यसले सेवाग्राहीलाई ठूलो राहत मिलेको उल्लेख गर्नुभयो।

त्यसैगरी, वडा सचिव चक्रपाणी पौडेलले "नागरिक सेवा प्रदायककहाँ होइन, सेवा प्रदायक नागरिकको घरमा" भन्ने नारालाई चरितार्थ गर्न यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कुनै पनि बहानामा सेवाग्राहीले दुःख पाउन नहुने र सेवालाई टोल-टोलसम्म पुर्याउँदा ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाहरुले सहज रुपमा सेवा लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो।

आफ्नै टोलमा परिचयपत्र नवीकरण गराउन पाएपछि स्थानीय ज्येष्ठ नागरिक राम बहादुर गुरुङले खुशी व्यक्त गर्दै वडा कार्यालय, जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिनुभयो। उनले भने, "हामीजस्ता बुढापाकाहरुको घरमै आएर भत्ता नवीकरण गरिदिएकोमा म निकै खुशी छु।"

अर्का ज्येष्ठ नागरिक कृष्ण प्रसाद कडेंलले पनि सेवामा संलग्न सबैलाई आशीर्वाद दिँदै यस्तै राम्रा काम गरिरहन प्रेरणा दिनुभयो। कञ्चन गाउँपालिकाले प्रत्येक वर्ष आफ्ना अत्यावश्यक वडाहरुबाट प्रदान गरिने सेवाहरुलाई टोल-टोलसम्म पुर्याएर सेवाग्राहीलाई सहजता प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार