गुल्मी । ‘फूलैफूलको नगर, पर्यटकको रहर’ भन्ने नारासहित रेसुङ्गा नगरपालिकाले सञ्चालन गरिरहेको वृक्षारोपण अभियानलाई साथ दिँदै रेसुङ्गा जाने सडकको १२ नम्बर प्लट (माथिल्लो घुम्ती) क्षेत्रमा करिब १६० वटा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएकोे छ। रेसुङ्गा नगरपालिकाले नगरलाई हराभरा, सुन्दर र पर्यटकमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित अघि बढाएको वृक्षारोपण अभियानअन्तर्गत चेम्बर अफ कमर्शलाई तोकिएको क्षेत्रमा कपुर, धुपी, सुनकाउली, कल्की तथा टिमुरका बिरुवा रोपिएको हो।
वृक्षारोपण कार्यक्रममा रेसुंगा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थी, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसाल, उपाध्यक्ष सीता विश्वकर्मा, महासचिव यज्ञप्रसाद शर्मा पन्थी, कोषाध्यक्ष युवराज पाण्डे, सचिव सूर्यप्रसाद घिमिरे, सहकोषाध्यक्ष कमलप्रसाद अर्याल तथा सदस्यहरू लिलबहादुर बस्नेत, यमबहादुर बस्नेत, सीता केसी, झवि पाण्डे, लालमणि आचार्य लगायत उद्यमी महिला समूहका सदस्यहरू एवम् साधारण सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष दुर्गाप्रसाद पाण्डेले नगरपालिकाले विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थालाई जिम्मेवारी सहित अभियानमा जोडेको कार्य प्रशंसनीय रहेको बताउनुभयो। उहाँले क्षेत्रगत जिम्मेवारी तोकिएपछि सम्बन्धित संस्थामा अपनत्वको भावना विकास भएको र अभियानलाई दीर्घकालसम्म सफल बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। महासचिव यज्ञप्रसाद शर्मा पन्थीका अनुसार नगरपालिकाको अभियानमा निजी क्षेत्रको सक्रिय सहभागिता जनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो। उहाँले वातावरण संरक्षणसँगै रेसुङ्गाको प्राकृतिक सौन्दर्य अभिवृद्धि र पर्यापर्यटन विकासमा यस्ता अभियानले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महासचिव पन्थीले स्थानीय सरकारले सुरु गरेको अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै रोपिएका बिरुवाले केही वर्षमै रेसुङ्गाको स्वरूप परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार हरियाली बढेसँगै वातावरणीय सन्तुलन कायम हुनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्नेछ। वन कार्यालयको सिलादी नर्सरी र उपल्लो तम्घासको नर्सरीले विरुवा उपल्बध गराएका थिए। यसरी विरुवा उपलब्ध गराउने सव डिभिजन कार्यालय उपल्लो तम्घासका कार्यालय प्रमुख उपेन्द्र अर्याल र सिलादी सव डिभिजन वन कार्यालयका प्रमुख छविलाल अर्याललाई चेम्बरले धन्यवाद समेत ज्ञापन गरेको छ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाले यस वर्ष करिब ६ हजार फूलका बिरुवा रोप्ने अभियान सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार तीन वर्षअघि सुरु गरिएको फूल रोपण अभियान अहिले परिणाममुखी बन्दै गएको छ। त्यसबेला रोपिएका फूलहरू अहिले फुलेर सडक किनार, सार्वजनिक स्थल र विभिन्न क्षेत्रमा मनमोहक दृश्य सिर्जना गरिरहेका छन्। नगरप्रमुख पन्थीले फूलहरूको सुगन्ध र सौन्दर्यले रेसुङ्गाको प्राकृतिक पहिचानलाई थप उजागर गरिरहेको उल्लेख गर्दै स्वच्छ, हराभरा र आकर्षक नगर निर्माण गर्ने लक्ष्य क्रमशः सफल बन्दै गएको बताउनुभयो। उहाँले यो उपलब्धि कुनै एक निकायको प्रयासले मात्र सम्भव नभएको स्पष्ट पार्दै सबै पक्षको सहकार्यबाट अभियान सफल हुँदै गएको धारणा राख्नुभयो।
उहाँले अभियानका लागि बिरुवा उपलब्ध गराउने डिभिजन वन कार्यालय बाँके, अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने पवन दमासे लगायत युवा, विभिन्न राजनीतिक दल, सामाजिक तथा व्यावसायिक संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय र सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्नुभयो। रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ’फूलैफूलको नगर, पर्यटकको रहर’ अभियानले अहिले सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र स्थानीय समुदायलाई एउटै उद्देश्यमा जोड्दै हरित नगर निर्माणको उदाहरण प्रस्तुत गरिरहेको छ। धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित रेसुङ्गालाई अझ सुन्दर, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा सबै क्षेत्रको सहभागिताले यसको प्रभावकारिता थप बढ्दै गएको स्थानीयवासीको विश्वास छ।