अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा अविरल वर्षासँगै परेको चट्याङले धनमालको क्षति गरेको छ । शितगंगा नगरपालिका वडा नम्बर ३, पदमे निवासी दोलक बहादुर सारुको घरमा चट्याङ पर्दा गोठमा बाँधिएको एउटा भैँसी मरेको छ ।वर्षा भइरहेका बेला अचानक परेको चट्याङले सारुको घरमा ठूलो क्षति पुर्याएको हो । चट्याङका कारण भैँसी मर्नुका साथै घरको विद्युतीय वायरिङमा समेत पूर्ण रूपमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मी प्रसाद पन्थीका अनुसार चट्याङका कारण घरका विद्युतीय उपकरणहरूमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले सो क्षेत्रको वस्तुस्थितिबारे थप विवरण संकलन गरिरहेको छ । पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण जिल्लाका ग्रामीण भेगहरूमा चट्याङको जोखिम बढ्दै गएको छ । प्रहरीले वर्षा र चट्याङको समयमा सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह समेत गरेको छ ।