भैरहवा । रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५, गौरीस्थित ऐतिहासिक सतियामाई मन्दिरमा हरिबोधिनी एकादशीको पावन अवसरमा रामलीला तथा सांस्कृतिक कार्यक्रमको भव्य उद्घाटन गरिएको छ। यस कार्यक्रमसँगै मन्दिर परिसरमा परम्परागत रामलीला मेला र तराईको लोकप्रिय कुस्ती दंगल पनि सुरु भएको छ, जसले स्थानीय तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी एवम् ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव ’सोनु’ ले सतियामाई मन्दिरको विकास, विस्तार, बाटो सुधार तथा सुन्दरीकरणमा गाउँपालिकाको उच्च प्राथमिकता रहेको बताउनुभयो। उहाँले स्थानीय तहको बजेटले भ्याएसम्म जनप्रतिनिधिहरूको सल्लाह–सुझावअनुसार सहयोग हुँदै आएको र यसबाहेक केन्द्र तथा प्रदेश सरकारसँग पनि मन्दिरको विकासका लागि पहल भइरहेको जानकारी गराउनुभयो। अध्यक्ष यादवले गाउँपालिकाको नामाकरण यसै मन्दिरको नामबाट भएको स्मरण गर्दै यसको संरक्षण र प्रवद्र्धनमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले धार्मिक सद्भाव, कला, संस्कृति र सभ्यताको जगेर्नाका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले सतियामाई मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा थप व्यवस्थित बनाउने योजनामा गाउँपालिका केन्द्रित रहेको बताउनुभयो। "यो मन्दिरको ऐतिहासिक महत्व छ। हामी यसलाई पर्यटकीय हब बनाउन प्रयासरत छौं," उहाँले भन्नुभयो। उपाध्यक्ष चौधरीले रामलीला जस्ता कार्यक्रमले संस्कृति र पहिचान बोकेको भन्दै यस्ता कार्यक्रमलाई भावी पुस्तासम्म पुर्याउन र समाजमा धार्मिक सद्भाव बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले पालिकामा आएदेखि मन्दिर व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो। उहाँले "यो मन्दिरबाटै पालिकाको नामाकरण भएकोले यस मन्दिरको विकासमा प्रतिबद्ध रहनेछु" भन्नुभयो। अधिकृत पन्थीले आफ्नो करिब १४ वर्षको सेवा अवधिमा सतियामाई मन्दिरको विकासका लागि एउटा ऐतिहासिक काम गरेर जाने इच्छा व्यक्त गर्दै मन्दिरको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले ओमसतियावासी जनता र समग्र देशको कल्याण तथा विकास निर्माणका कामहरू अघि बढ्न सकोस् भन्ने कामना पनि गर्नुभयो।
मेला व्यवस्थापन समिति अध्यक्ष देवानन्द चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदनप्रसाद पोखरेलले सतियामाईको चमत्कारिक कथालाई श्रद्धालुहरूको आस्था र विश्वाससँग जोडेर चर्चा गर्नुभयो। उहाँले मेलाले स्थानीय संस्कृति र खेलकुदलाई प्रोत्साहन गर्ने बताउनुभयो।
केशवप्रसाद यादवको स्वागत र पशुपति यादवको सञ्चालनमा सम्पन्न यस कार्यक्रममा दर्शक तथा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको थियो। हरिबोधिनी एकादशीका दिनदेखि कार्तिक पूर्णिमासम्म चल्ने यो मेलामा रामलीलाको मञ्चनका साथै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश छन्। यस मेलाले धार्मिक पर्यटनलाई थप गति दिने विश्वास गरिएको छ।