खानेपानी संकट समाधान गर्न मधेस सरकारद्वारा ८ वटा वारुणयन्त्र परिचालन

Ujyalosandeshonline 11765+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

वीरगन्ज । मधेस प्रदेशका वीरगन्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानीको चरम संकट समाधान गर्न प्रदेश सरकारले सक्रियता बढाएको छ । खानेपानीको अभाव झेलिरहेका नागरिकलाई तत्काल राहत पुर्‍याउन प्रदेश सरकारले ८ वटा वारुणयन्त्र (दमकल) परिचालन गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार बिहान एक कार्यक्रमका बीच ती वारुणयन्त्रहरूलाई पानी आपूर्तिका लागि अति प्रभावित क्षेत्रतर्फ पठाउनुभयो । सो अवसरमा बोल्दै मुख्यमन्त्री सिंहले खानेपानीको समस्या समाधानमा सरकार पूर्ण रूपमा क्रियाशील रहेको र नागरिकको समस्यालाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार पठाइएका यी वारुणयन्त्रहरूले संकटग्रस्त क्षेत्रमा २४ सै घण्टा खानेपानी वितरण गर्नेछन् । ५ हजार लिटर क्षमताका ८ वटा वारुणयन्त्रमार्फत एकैपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ । प्रदेश सरकारको व्यवस्थापनमा रहने यी वारुणयन्त्रहरूको सञ्चालन नेपाली सेनाले गर्नेछ ।

प्रदेश सरकारले यसअघि नै वन कार्यालयका तीनवटा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएको थियो । समस्याको गम्भीरतालाई ध्यानमा राख्दै नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारीसमेत भइरहेको सरकारले जनाएको छ ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, "सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा छ । विद्यमान समस्या समाधानका लागि हामीले संघीय सरकार, स्थानीय तहहरू र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गर्नेतर्फ प्रयत्नशील छौं ।"

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार