अर्घाखाँची। लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा संचालन भएको युवा सचेतना अभियान सम्पन्न भएको छ ।
कानुनले बर्जित गरेपनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विकृतिजन्य कुरिति र दुर्व्यसनी नियन्त्रण गर्न नगरपालिकाको१० वटै वडामा यस्तो अभियान संचालन गरिएको हो।
भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरिय युवा सञ्जालले १० वटै वडाको प्रतिनिधित्व हुनेगरि ५ स्थानमा ५ सय बढि युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम संचालन गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले बताए ।
भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालका अनुसार गत शुक्रबार भूमिकास्थान वडा नम्बर ९ र १० का युवाहरुको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरि शुभारम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिकास्थान ३ र ४ का युवाहरुको सहभागितामा धारापानीमा समापन गरिएको छ। अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौंका प्रतिनिधि पुरन पोख्रेलले लागु औषध के हो ? दुर्व्यसनी के हो ? मानिसहरु लागुऔषधको शिकार किन हुन्छन् ? कसरी छुटाउन सकिन्छ ? जस्ता बिषयमा युवाहरुलाई अभिमुखिकरण गरेका थिए भने सामाजिक कुरिति, कुप्रथा र अन्धविस्वास के हो ?यसले मानिस र समाजलाई कसरी झेलेको छ ? मुक्त कसरी हुने भन्ने बिषयमा ट्रष्ट नेपाल खोटाङको अध्यक्ष गोमा राईले प्रशिक्षण दिएकी थिइन ।
जेठ १६ गते शुक्रबार, जेठ १७ गते शनिबार र जेठ १८ गते आइतबार धनचौर,नुवाकोट, असुरकोट, ढाकावाङ्ग र धारापानी गरि ५ स्थानमा ५ सय बढि युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र पत्रकार गोपाल प्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।
२१औं शताब्दिमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामि, महिनावारी बार्ने, बालबिबाह, जातिय छुवाछुत र कुलत जस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झविलाल थापाको भनाई छ।
भौतिक निर्माणले मात्रै समाज समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासको निम्ती समाजिक कूरिति र दुर्व्यसन कारक बनेको बताए । नागरिक सचेत नभएसम्म भौतिक सुविधाले सन्तुष्टी नमिल्ने निष्कर्ष सहित आफुहरुले यस्ता कार्यक्रम अगाडि बढाएको उनको भनाई छ ।
सचेत युवाको एकताले समाजमा व्याप्त कुप्रथा, दुर्व्यसनी न्युनीकरण गदै सृमद्ध समाज बनाउन सकिने विस्वास व्यक्त गर्दै नगरप्रमुख थापाले कर्म र उत्पादनमा जोडिन सबै नागरिकलाई अपिल गरे ।
आम नागरिकको सकरात्मक सोंच र युवाहरुको सक्रियताले समाजका हानिकारक प्रथा र गलत संस्कार हटाउन सकिने भन्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए ।
कार्यक्रममा नगरपालिका संगै भूमिकास्थान १ का वडाध्यक्ष गोपाल खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र १० का वडाध्यक्ष खगिश्वर पन्थी,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, वडासचिव, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधि, प्रहरी सहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो । युवा सचेतना अभियानमा सहभागी युवा तथा सरोकारवालाले समाजका नकरात्मक पक्षजस्तैः बोक्सी, दाइजो, बाल विवाह र दुव्र्यसनी जस्ता कुरीतिलाई अन्त्य गर्न भूमिका खेल्ने प्रण गरेका छन् ।