भैरहवा । शुक्रबार देखी भैरहवामा २ दिने बुद्ध ज्ञान साईकल यात्रा सुरु भएको छ । १ सय १५ जना बढी साईकल यात्रीहरु यो यात्रामा सहभागी छन्। भैरहवाको बुद्धचोकबाट सुरु भएको साईकल यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह हुदै कपिलवस्तुको तिलौराकोट र बौद्धकालीन अन्य सम्पदाको भ्रमणसंगै करिब २ सय किलोमिटरको दुरी पार गरि लुम्बिनीमा आएर टुंगिने छ । यात्रामा नेपाल संगै भारत, बेल्जियम लगायतका देशबाट सहभागीहरु छन् । तर यात्रामा सबै भन्दा अगाडी रहेकी एक जना बालिकाले सबैको ध्यान तानेकी छन् । आफू भन्दा ठूलो साईकलमा सबै भन्दा अग्र भागमा रहेकी उनि यो यात्रा अरुसंगै सम्पन्न गर्ने मनस्थितिमा छिन ।
यात्रामा ७५ वर्षिय वृद्ध र अधिकांशको उमेर ३० वर्ष माथिनै छ । त्यो १ सय १५ जनाको भिडमै ती बालिका पनि छिन । उनि अर्थात १२ वर्षिय अस्विनी खरेल । आफ्ना बुवाको उमेर बराबरका साइक्लिष्टसंगै उनले करिब २ सय किलोमिटर यात्रा संगसंगै साइकल चलाएरै पुरा गर्ने आँट गरेकी छिन ।
उनको बारेमा बुझ्दै जादा उनको साइकल प्रतिको यो मोह यस अघिनै देखिएको थियो । ८ वर्षकै उमेरमा उनले जेसिआई सिद्धार्थले आयोजना गरेको भैरहवा रामग्राम त्रिवेणी सम्मको साइकल यात्रामा उनि पनि सहभागी भई त्रिवेणी सम्म पुगेकी थिइन् । यतिमात्र हैन उनले सैनामैनामा आयोजित साईकल कोरामा समेत भाग लिएर पुरस्कार जितेको बताउछिन ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ नयाँ कोलोनीमा बस्दै आएकी अस्विनी अहिले काशी नोबल एकेडमीमा ७ कक्षामा अध्ययन गर्दै छिन। उनि पढाईसंगै अन्य अतिरिक्त कृयाकलापहरुमा समेत अब्बल छिन । नाचगानमा पनि रुचि छ । त्यसमा पनि अहिले ‘साइक्लिंग भने पछि हुरुक्क हुन्छे’, उनको ठूलो बुवा बिजय खरेलले भने ।
उनलाई लडिएला चोट लाग्ला भन्ने डर पटक्कै छैन् । घरमा अझै पनि हजुरआमा, आमाहरुले केटाकेटीले ठुलो साइकल चलाउनु हुदैन भन्छन, तर उनि ठूलो बुवा बिजयलाई पछ्याउदै साईकल चलाउछिन । “अब मेरो बानी भइसक्यो ठूलो साइकिल चलाउने, जेसिसमा साइकल चलाएर परासी रामग्रामसम्म पुग्दा पुरस्कार बापत ३ हजार पुरस्कार पाएपछि अझै हौसिएकी छु ।” उनले भनिन । “अहिले स्कुलबाट फर्केर बेलुका बेलुका घरवरपर नियमित साइकल चलाउछु, अरु बेला पढ्न पनि पर्यो ।” भविष्यमा उत्कृष्ट साईक्लिष्ट बन्ने हो, यहाँ वरपर हुने यस्ता कार्यक्रममा पनि भाग लिनी हो, उनले योजना सुनाइन
बिजय खरेल नियमित साईकल चालक हुन्। बिहान उनलाई साईकल चलाएका देखेर अश्विनी पनि ठुलो बुवा संगै जाने अडान लिए पछि उनलाई सानो दुरीको यात्रामा लैजाने गरेको विजय बताउछन्। “पछि उसको गजबको स्टेमिना देखेर अन्य लामो दुरीको यात्रामा पनि लैजान थालेको र अहिले उसले नियमित साईकल चलाउने गरेको” उनको भनाई छ । अहिले अस्विनीले गियर वाला साइकल मोटाचे चलाउछिन । साईकलको तौल र उनको तौल लगभग उस्तै छ । चलाउने साइकलको सिट अग्लो भएकाले सिट डाउन गरी चलाउछिन ।
साईकल चलाउदा खेल पनि हुने र ब्यायम पनि हुने हुदा यसलाई निरन्तरता दिने र ठूलो भए पछि लामो दुरीको साईक्लिष्ट बन्ने ईच्छा रहेको उनले सुनाईन।
भैरहवामा अहिले “साईकल सिटी भैरहवा” भनेर संगठित रुपमै साईक्लिष्टहरु साईकल चलाउने गरेका छन् । साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले अस्विनी आफ्नो संस्थाको नियमित साईकल चालक रहेको बताउछन् । कान्छी साईक्लिष्ट अस्विनी यो यात्राको आकर्षकको रुपमा रहेको र उनको भविष्य यस क्षेत्रमा उज्वल रहेको मगर बताउछन् ।