म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो ।
विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् । पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन छ । सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन् ।