भैरहवा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीले अवैध रूपमा भन्सार छली ल्याइएको ठूलो परिमाणको पेन्ड्राइभ बरामद गरेको छ। जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बाइपासमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामग्री नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी कृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ९ सय ८० थान पेन्ड्राइभ बरामद गरेको जानकारी दिइएको छ। बरामद गरिएका पेन्ड्राइभको अनुमानित बजार मूल्य करिब रुपियाँ ५ लाख ३९ हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीलाई आवश्यक कारबाही भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।