भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

Ujyalosandeshonline 12150+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।आपतकालीन सडक उद्धारका लागि आवश्यक उपकरणसहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

सतुङ्गलस्थित एपिएफ अस्पतालमा बाढी प्रभावितको सुविधाका लागि शय्या खाली गरिएको छ । रसुवाभन्दा तलका तटीय क्षेत्र (नुवाकोट, धादिङ र चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटलाई  विपद उद्धारका लागि अलर्ट अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्रका गाडी तथा गस्ती टोलीमार्फत सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको छ । 

नुवाकोटको सदरमुकाम बिदुरमा अस्थायी स्वास्थ्य सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलका इकाईमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने काम भइरहेको छ । देशका अन्य भागमा रहेका कन्टेनरलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको छ । 

भोटेकोशी/त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट हुनसक्ने वा थप बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको निरन्तर संवाद तथा सूचना आदान–प्रदान भइरहेको छ । 

नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड र कोरिडोरमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । नदी किनार र बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकको पहिचालन गर्न तथा बाढीको क्षति मूल्याकङ्न गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । 

रसुवागढी भन्सार यार्डसहित बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको कुकुरसहितको खोजी तथा उद्धार टोली परिचालन भएको छ ।बाढी प्रभावित क्षेत्रमा आपतकालीन हेलिप्याड तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको छ । विस्थापित शिविरमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरीको टोलीले आपतकालीन खानेपानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने कार्य गर्न निर्देशन भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार