गुल्मी । रेसुङ्गा नगरपालिकाको "फूलैफूलको नगर, पर्यटकको रहर" अभियान अन्तर्गत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति गुल्मीले ऐतिहासिक तथा धार्मिक स्थल नुनामारे क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरेको छ । नगरको ६ हजार बिरुवा रोप्ने लक्ष्यलाई सघाउँदै संघले मंगलबार कपुर, गुराँस, दालचिनी र अम्बा लगायतका ५० भन्दा बढी प्रजातिका बिरुवा रोपेको हो ।
कार्यक्रममा संघका जिल्ला सभापति पशुपति पाण्डे र रेसुङ्गा नगरपालिका–१ का वडाध्यक्ष रामप्रसाद पन्थी लगायतको सहभागिता थियो । नगरप्रमुख खिलध्वज पन्थीले तीन वर्षअघि सुरु भएको यो अभियान स्थानीय सरकार, संघसंस्था र नागरिकको साझा सहकार्यले परिणाममुखी बन्दै गएको बताउनुभयो । वि.सं. २०५३ मा स्थापित संघले सैनिक हकहितका साथै वातावरण संरक्षण जस्ता सामाजिक कार्यमा पनि योगदान पुऱ्याउँदै आएको छ ।