अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेद्वारा आयोजित जनप्रदर्शन तथा सद्भाव र्यालीलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद सूर्य थापाले अहिलेको परिस्थिति अस्थिर र अराजक रहेको बताउनुभएको छ। उहाँले संविधानले नचिनेका र जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको भन्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको खरो आलोचना गर्नुभयो। थापाले अहिलेको सरकार ‘रुल अफ ल होइन, यो हुल अफ ल’ भएको टिप्पणी गर्नुभयो।
सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै थापाले ‘हुल अफ ल मुर्दावाद’ भन्दै आफूहरू कानुनी शासनको पक्षमा रहेको बताउनुभयो। उहाँले प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने र जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने दुईवटा निर्णय गरेको जानकारी दिनुभयो।
कार्यक्रम नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको औंल्याउनुभयो। संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।