नवलपुर । देवचुली नगरपालिकामा अवस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नवनिर्वाचित कार्यसमितिको पहिलो १०० दिनमा जनउत्तरदायी र प्रभावशाली कामहरू सम्पन्न गरेको छ। २०८१ साल चैत्र ३० गते सम्पन्न भएको ९ औं अधिवेशनबाट डिल्लीराम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो ।
नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छोटो अवधिमै ३५ नयाँ धारा जडान गर्नुका साथै २०५८ मिटर पाइपलाइन विस्तार गरेको संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो। यस अवधिमा संस्थाले करिब ८ लाख रुपैयाँ बक्यौता महसुल संकलन गर्न सफल भएको छ।
सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै संस्थाले सिटिजन्स बैंक धारापानी शाखा र गरिमा विकास बैंक दलदले शाखासँगको सहकार्यमा प्रगतिनगर चोक र दलदले चोकमा निःशुल्क स्मार्ट वाटर फिल्टर जडान गरेको छ। साथै, पारिवारिक सदस्य गुमाएका उपभोक्ता परिवारलाई सो महिनाको मासिक महसुल छुट दिने मानवीय निर्णय पनि गरेको छ ।
अध्यक्ष कडरियाका अनुसार, संस्थाले ठूला पूर्वाधार विकासका लागि महत्वपूर्ण बजेट सुनिश्चित गर्न सफलता हासिल गरेको छ। मुहान तटबन्ध र फिल्टर प्लान्ट निर्माणका लागि केन्द्र सरकारबाट तीन करोड रुपैयाँ, प्रेसर फिल्टरका लागि संघीय कार्यालय पोखराबाट ४० लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँबाट ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।
यसका साथै, मुहान संरक्षण, बाटो निर्माण, प्रयोगशाला सुधार, क्यालेन्डर प्रकाशन र छिमेकी संस्थाहरूसँगको सहकार्यले सामुदायिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुगेको छ । संस्थाको सिताबासमा रहेको टंकी परिसरको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कडरियाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल, सल्लाहकार, पत्रकार महासंघका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो।