इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आउनुभएको छ । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले १८ रोपनी बारीमा ३०० वटा रुद्राक्षका बोट रोप्नुभएको छ । विस २०७३ सालमा सङ्खुवासभाबाट प्रतिगोटा रु २०० का दरले बिरुवा खरिद गरेर रुद्राक्ष रोपेको उहाँले बताउनुभयो । चार वर्षपछि सबै बोटले उत्पादन दिन थालेको उहाँले बताउनुभयो । ‘विस २०७३ सालमा सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा रु २०० का दरले ३०० वटा रुद्राक्षको बिरुवा ल्याएर खेतीयोग्यो बारीमा रोपेको हुँ,’ उहाँले भन्नुभयो, ‘चारवर्षपछि उत्पादन सुरु भयो । विस २०७७ सालदेखि बर्सेनि रु दुई लाख कमाइ भइरहेको छ ।’
रुद्राक्षलाई अन्य बालीजस्तो धेरै मेहनत गरिरहन नपर्ने भएकाले आम्दानी सबै बचत हुने जवेगूले बताउनुभयो । सुरुमा बिरुवा किन्न, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्केपछि कुनै खर्च नहुने उहाँले बताउनुभयो । अन्य अन्नबाली बर्सेनि लगानी र श्रम गर्नुपर्ने तर रुद्राक्ष एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
जवेगूले उत्पादन गर्नुभएको रुद्राक्ष बिक्रीका लागि बजारको चिन्ता छैन । सङ्खुवासभाका व्यापारीले बोटबाट नै वार्षिक रु दुई लाख दिने शर्तमा ठेक्का सम्झौता गरी लैजाने गरेको उहाँले सुनाउनुभयो । ‘रुद्राक्ष बिक्रीका लागि मैले केही गर्न पर्दैन । उत्पादन भएपछि उहाँहरु आउनुहुन्छ । दाना आफैँ हेर्नुहुन्छ । मुखदारजति छान्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘ठेक्का सम्झौताअनुसार पैसा दिएर जानुहुन्छ ।’
विगतमा परम्परागत रूपमा मकै, कोदोलगायत अन्नबाली खेती गर्दै आउनुभएका जवेगूले रुद्राक्षबाट कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । अहिले रुद्राक्षबाट हुने आम्दानीले उहाँको घरखर्चमा प्रत्यक्ष सहयोग पुगेको छ । ‘पहिले कडा मेहनत गर्दा अन्नबालीबाट खरखर्च चलाउन मुस्किल पर्दथ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले बर्सेनि नियमित आम्दानीले घरखर्च चलाउन सहज भएको छ ।’
रुद्राक्ष खेतीबाट नियमित आम्दानी हुन थालेपछि उहाँले आगामी दिनमा रुद्राक्षको खेती विस्तार गर्ने योजनानामा रहेको बताउनुभयो । आगामी वर्ष नयाँ जमिनमा रुद्राक्ष रोप्ने योजना बनाउनुभएको जवूगूले गाउँका अन्य किसानलाई रुद्राक्ष खेतीबारे जानकारी गराउँदै आउनुभएको छ । माङसेबुङमा पहिलोपटक जवेगूले व्यावसायिक रुद्राक्ष खेती सुरु गर्नुभएपछि अन्य किसानले पनि परीक्षणका लागि थोरै क्षेत्रमा रुद्राक्ष रोप्न थालेका छन् । स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय विरुवा र बजार ब्यवस्थापनमा ध्यान दिन सके रुद्राक्ष खेतीलाई व्यावसायिक रुप दिन सकिने जवेगूको भनाइ छ ।
रुद्राक्षबाट गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त गर्न सकिने जवेगूको भनाइ छ । ‘सबै दानाको मूल्य एउटै हुँदैन, उहाँले भन्नुभयो, ‘स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेको छ ।’ रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । रुद्राक्षको दानाको मूल्य मुखअनुसार फरकफरक निर्धारण हुने गरेको छ । सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्ष मानिन्छ । व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति नै दुर्लभ र मूल्यवान मानिने भएकाले यसक बजार सोहीअनुसार उच्च हुने गर्दछ ।
रुद्राक्षका दाना धार्मिक तथा साँस्कृतिक प्रयोजनक साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले बजारमा यसको माग हुने गरेको छ । धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभइ विदेशमा उच्च रहेको व्यावसायीको भनाइ छ । रुद्राक्ष समुद्री सतहदेखि करिब एक हजार ८०० मिटरको उचाइमा खेती गर्न सकिने विज्ञको बनाइ छ । यसका लागि मट्याइलो, पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ । यसको विरुवा वर्षादयाम अर्थात् असारदेखि असोजसम्म १० मिटरको फरक पारेर रोप्न उपयुक्त मानिन्छ । तराईदेखि मध्यपहाडि क्षेत्रमा खेती गर्न सकिने यो नगदेवृक्ष फल दिन थालेपछि पचासौँ वर्षसम्म फल फलिरहन्छ ।